आलमविरुद्ध प्रहरीको तीन आरोप, जन्मकैद सजायको दाबी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

आलमविरुद्ध प्रहरीको तीन आरोप, जन्मकैद सजायको दाबी

aalam

रौतहट, १६ कात्तिक । नेपाली कांग्रेस रौतहटका नेता एवं प्रतिनिधिसभा सदस्य महम्मद आफताब आलमविरुद्ध प्रहरीले तीनवटा आरोप लगाएको छ। प्रहरीले अनुसन्धान सकेर शुक्रबार सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनमा आलमलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट गरी तीनवटा आरोप लगाई जन्मकैद सजाय माग दाबी गरिएको छ।

रौतहट प्रहरी कार्यालयले दिएको जानकारीअनुसार आलमकै निर्देशनमा बम बनाउन प्रत्यक्षरुपमा मानिस परिचालन गरेको, विस्फोटपछि घाइते भएकालाई जिउँदै इँटाभट्टामा लगेर जलाएको तथा उजुरी गर्नेलाई समेत हत्या गरेको निष्कर्ष निकाली अभियोजन पत्रमा आलमलाई आजीवन कारावासको सजाय माग दाबी गरिएको हो। आलम २० दिनदेखि प्रहरी हिरासतमा छन्।

प्रहरीले विस्फोटमा घाइते भई उपचारका लागि भारतस्थित एक क्लिनिकमा गएका व्यक्तिको उपचार रिपोर्टलाई पनि प्रमाणका रुपमा पेस गरेको छ। त्यसका ब्लाष्ट इन्जुरीका कारण उपचार गरिएको उल्लेख छ। साथै १२ जना साक्षी, पूर्व प्रहरी महानिरीक्षक ओमविक्रम राणा र तत्कालीन मध्यक्षेत्रका प्रमुख (डिआइजी) किरणकुमार गौतमको बयानलाई पनि प्रमाणको रुपमा पेस गरिएको छ।

तत्कालीन समयमा राणा र गौतमले आफूहरुलाई बम विस्फोटको रिपोर्टिङ भएको बताएका थिए। त्यसैगरी तत्कालीन प्रहरी निरीक्षक इन्द्र सुवेदीले पनि त्यहाँ बम विस्फोट भएको बयान दिएका छन्।

यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);