प्रतिनिधि सभाको सभामुख को बन्ला भन्ने सर्वत्र चाँसो | ईमाउण्टेन समाचार

Our Network

फागुन १३ २०८२, बिहीबार

प्रतिनिधि सभाको सभामुख को बन्ला भन्ने सर्वत्र चाँसो

kurchi

काठमाडौं, ७ कात्तिक । रिक्त रहेको सभामुख पदमा अझै पूर्ति गर्न सकिएको छैन । महिला कर्मचारीलाई यौन दुव्र्यवहार गरेको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएसँगै सभामुख पद रिक्त भएको हो । प्रतिनिधि सभामा अब को सभामुख बन्ला भन्ने सर्वत्र चाँसो छ तर कसलाई बनाउने भन्नेमा भने प्रमुख दलहरुबीच अझै गम्भीर छलफल भएको पाईदैन ।

संविधानको धारा ९१ ले यदि सभामुखले राजिनामा दिएमा उपसभामुखले लगत्तै बस्ने संसदको बैठकमा सभामुख पद रिक्त रहेको जानकारी गराउने व्यवस्था छ । सोही बैठकबाट सभामुखको निर्वाचन प्रकृया सुरु हुन्छ ।

सभामुख र उपसभामुख दुवै रिक्त रहेको अवस्थामा उमेरको आधारमा संसदको ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्दछ । अहिले उपसभामुख हुनुहुन्छ तर संसद बैठक चलेको अवस्था छैन ।

त्यसैले रिक्त सभामुख पदमा संविधानको धारामा गरिएको व्यवस्था अनुसार चयन प्रक्रिया अघि बढ्न सकेको छैन । राष्ट्रपतिले संसद बैठक आव्हान गरेको अवस्थामा संसद बैठक बस्ने हो ।

त्यसको लागि सरकारले राष्ट्रपति समक्ष सिफारिस गर्नु पर्ने हुन्छ । संसद बैठक अझै आव्हान नभएको हुँदा प्रतिनिधि सभाको सभामुख कहिले चयन हुने भन्ने अझै अन्यौल बढेको छ ।

प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७ मा यस सम्बन्धी व्यवस्था रहेको छ । तर पनि प्रतिनिधि सभा नियमावली २०७५ ले पनि यति नै समयमा सभामुख नियुक्त गर्नुपर्ने व्यवस्था भने गरेको छैन ।

बलात्कार प्रयास गरेको आरोपमा दशैंको बेला सभामुख कृष्ण बहादुर महरालाई प्रहरीले पक्राउ गरेको थियो । लगत्तै पदबाट राजिनामा दिनु भएका महरा त्यस यता प्रहरी हिरासतमा रहंदै आउनु भएको छ ।

महरामाथि लागेको आरोप यतिबेला देशभर मात्र होइन अन्तर्राष्ट्रिय रुपमै चर्चाको बिषय बनिरहेको छ । धेरैले यसलाई लज्जाको विषय समेत भनेका छन् । सभामुख चयन प्रक्रियामा ढिलाईसँगै अब को होला भन्ने आम चासोको विषय बनिरहेको छ ।

पहिले एउटै दलको सभामुख र उपसभामुख रहेकोमा अब फरक दलको होला कि नहोला ? यसमा दलहरु कसरी सहमतिमा अघि बढ्लान् भन्ने चासो अहिले सर्वत्र छ ।