झापा, ६ कात्तिक । झपामा यतिबेला खाना पकाउनका लागि बायो ग्यासले धेरै घर परिवारलाइ आकर्षित गरिरहेको छ । नेपालमा खाना पकाउन सहरी क्षेत्रमा एलपी ग्याँसको धेरै प्रयोग हुन्छ भने ग्रामिण भेगमा अझै पनि अधिकांश घरहरुमा दाउरा प्रयोग हुने गर्दछ । तर बन जगंल मासिने क्रमले गर्दा ग्रामिण भेगमा दाउराको विकल्पमा बायो ग्याँस, गोबर ग्याँस पनि प्रयोग हुन थालेका छन् ।
नेपालका गाउँघरका भान्सामा खाना पकाउन अझैंपनि दाउराको प्रयोग अत्याधिक हुने गरेको छ । तर, तीव्र सहरीकरण र वन विनासका कारण दाउराको समेत अभाव हुन थालेपछि ग्रामीण क्षेत्रमा पनि वैकल्पिक उर्जाको प्रयोग हुन थालेको छ । समय – समयमा एलपी ग्यासको समेत अभाव हुने, सहज रुपमा दाउरा नपाइने र दाउरा बाल्दा धुँवाले स्वास्थ्यमा असर पर्ने भएपछि झापा अर्जुनधारा नगरपालिका–७ निवासी होमप्रकाश अधिकारीले अहिले कोरियन प्रविधिको होम वायो ग्याँस जडान गर्नुभएको छ ।
एलपी ग्यास भन्दा सस्तो र प्रभावकारी हुने भएपछि उहाँले नयाँ प्रविधिको होम वायो ग्यास जडान गर्नुभएको हो । इजरायली ऊर्जा विज्ञहरुले बायोग्याँस प्रविधिलाई आधुनिकीकरण गर्ने क्रममा उपयोगी, मितव्ययी, र वातावरणमैत्री बनाएपछि नेपालमै पहिलो पटक भित्रिएको होम बायोग्याँस अहिले झापासहित प्रदेश नम्वर १ मा धमाधम जडान भइरहेको छ ।

२० हजार रुपैयाँमा एकै दिनमा जडान गर्न सकिने भएपछि यो प्रविधिको वायोग्यास झापालीका घर घरमा जडान गर्न थालिएको छ । यसलाई दैनिक ४ घण्टासम्म प्रयोग गर्न सकिने बताउनुहुन्छ नेपाल वायो ग्याँस प्रवद्र्धन संघका प्रदेश नम्वर १ का सचिव सन्तोष उप्रेती ।
खाना पकाउनका लागि एलपी ग्याँस भन्दा सस्तो हुने भएपछि बिर्तामोड नगरपालिकाले एलपी ग्याँसको सट्टा होम वायो ग्याँसको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेको छ । यस्तो बायो ग्याँसको प्रयोगले स्वास्थ्यसंगै वातावरणमा भईरहेको नकरात्मक असरहरुलाई पनि नियन्त्रण गर्ने गर्दछ ।




