काठमाडौं, ६ कात्तिक । काठमाडौंको पुरानो बसपार्कस्थित दुई माजु मन्दिर परिसरमा बनाइएका व्यापारिक टहराहरु तत्काल हटाउन माग गर्दै स्थानीयले मन्दिर अगाडी धर्ना दिएका छन् ।
मुलुककै सांस्कृतिक तथा पुरातात्विक महत्वको सो मन्दिर अतिक्रमण गरी व्यापारिक टहराहरु बनाएकोमा आपत्ति जनाउँदै स्थानीय सम्पदाकर्मीहरुले तत्काल सो टहरा हटाउन माग गर्दै बुधबार एक घण्टा मन्दिर अगाडि धर्ना दिएका हुन । टुँडिखेल र टुँडिखेल परिसरमा रहेका सबै सम्पदाहरुमाथि गुठी संस्थानलेनै अतिक्रमण गर्न थालेपछि त्यसको विरोधमा धर्ना लगायतका कार्यक्रम सुरु गर्नु परेको स्थानीयले बताएका छन् ।
सम्पदाकर्मीहरुले टुडिखेलस्थित खुल्ला मंचमा परिसरमा बनाइएका सबै व्यापारिक टहराहरु हटाउन माग गर्दै आन्दोलनलाई निरन्तरता दिँदै आएका छन । उनीहरुले दुई माजु मन्दिर परिसर भित्र बनाइएको व्यापारिक टहराहरु तत्काल नहटाए गुठी संस्थान, काठमाडौं महानगरपालिका र सम्बन्धित वडा कार्यालयविरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिएका छन् ।