काठमाडौं, ६ कात्तिक । २०६४ सालमा बम विस्फोट र त्यसका घाइतेको सामूहिक हत्या गरेको आरोपमा १२ वर्षपछि पक्राउ परेका कांग्रेस सांसद मोहम्मद आफताव आलम त्यसभन्दा अघि पनि अपहरण, शरीर बन्धक तथा कुटपिटको घटनामा संलग्न रहेको पुष्टि भएको छ ।
२०५६ सालमा वनराज्यमन्त्री रहेका आलमले रौतहटका तत्कालीन जिविस सदस्य जयप्रकाश कौशलको अपहरण गरी उनलाई बन्धक बनाएका थिए । त्यही अपहरण काण्डका विषयमा तत्कालीन एमालेले संसद् अवरुद्ध पारेपछि सरकारले पुनरावेदन अदालतका तत्कालीन न्यायाधशि गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा अधिवक्ताद्वय अग्नि खरेल र शेरबहादुर केसी सदस्य रहेको न्यायिक जाँचबुझ आयोग गठन गरेको थियो ।




