काठमाडौं, २८ असोज । राष्ट्रपति विद्या भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न आह्वान गर्नु भएको छ ।
मंगलबारबाट राजधानीमा शुरु भएको गैरआवासीय नेपाली संघ एनआरएनएको नवौं बिश्व सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले यस्तो आब्हन गर्नुभएको हो । उहाँले व्यक्तिगत तथा सामूहिक लगानी मार्फत नेपाल निर्माण गर्ने महाअभियानमा सबै गैरआवासीय नेपालीहरु जुट्नुपर्ने उल्लेख गर्नुभयो ।
राष्ट्रपति भण्डारीले गैर आवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्न सहज र अनुकूल वातावरण बनेको समेत बताउनुभयो । उहाँले ‘नेपाल सरकारको समग्र प्रयास, नीति तथा कार्यक्रमहरु ‘समृद्ध नेपालः सुःखी नेपाली’को साझा राष्ट्रिय आकांक्षा पूरा गर्ने दिशामा केन्द्रित रहेको भन्दै गैर आवासीय नेपालीहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्ने व्यवस्था संविधानमै गरिएको पनि स्मरण गराउनु भयो ।
सम्मेलनमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले गैर आवासीय नेपालीहरुलाई नेपालको विकासमा आफूले हासिल गरेका ज्ञान, सीप र प्रविधिको उपयोग गर्न आग्रह गर्नु भयो । उहाँले गैर आवासीय नेपालीहरुको अधिकारको सुनिश्चित हुने गरी सरकारले छिट्टै ‘गैर आवासीय नेपाली परिचय पत्र’ वितरण गर्ने पनि जानकारी दिनु भयो ।
२ हजार ५ सय भन्दा बढि प्रतिनिधिहरु सहभागी रहेको तीन दिने सो विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व पनि चयन गर्नेछ ।