यस्ता छन् चिनियाँ कम्पनीले नेपालमा गरिरहेका परियोजना | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

यस्ता छन् चिनियाँ कम्पनीले नेपालमा गरिरहेका परियोजना

काठमाडौं, २७ असोज । चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने नेपाल भ्रमण सकेर फर्किसक्नु भएको छ । यो भ्रमणले नेपाल–चीन सम्वन्धलाई नयाँ उचाईमा पुर्याएको विश्वास सरकारले लिएको छ ।

चीन नेपालको छिमेकी र प्रमुख विकास साझेदार देश हो । चिनियाँ सहयोगमा धेरै उद्योगधन्दाहरु नेपालमा खुलेका छन् भने धेरै आयोजनाहरुको निर्माण चिनीयाँ कम्पनीहरुले सम्पन्न गरेका छन् । नेपालमा सडक, विमानस्थल, रेलमार्ग लगायतका पूर्वाधार विकास र पुनर्निर्माणमा चीनले सहयोग गर्दै आएको छ ।

पछिल्लो समय नेपालमा विदेशी ठेकेदार सहभागी हुने प्रायः सबै ठेक्कामा चिनियाँ ठेकेदारहरुको दबदबा छ । नेपालका प्रमुख गौरबका आयोजनाहरुमा चिनियाँ ठेकेदारहरु संलग्न छन् । विमानस्थल र सडक आयोजनाहरुमा मात्रै नभएर ऊर्जा, खानेपानी र सिञ्चाई र सञ्चारका आयोजनामा पनि चिनियाँ कम्पनीका ज्वाइन्ट भेञ्चरहरु संलग्न छन् ।

चिनियाँ निर्माण कम्पनीहरु लागत, प्रविधि र गुणस्तरका लागि विश्वमै नामी छन् । अहिले चीनका कम्पनीले युरोपेली मुलुकमा पनि यस्ता ठेक्का हात पारिरहेका छन् ।

नेपालमा कस्ता परियोजनामा कस्तो मूल्यमा चिनियाँ कम्पनीले कस्तो काम गरिहेका छन् त ? यस्ता छन् चिनियाँ कम्पनीले गरिरहेका नेपाली परियोजना :

१. पोखरा अन्तराष्ट्रिय विमानस्थल
चीनकै लगानीमा बनिरहेकोे यो आयोजना चिनियाँ ठेकेदार कम्पनी सीएएमसीले जिम्मा पाएको हो । सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्यसहित काम भईरहेको यो आयोजना निर्माणका लागि कुल २१५ दशमलब ९६७ मिलियन अमेरिकी डलर लाग्ने अनुमान गरिएको छ । आयात निर्यात (एक्जिम) बैंकले २१४.७ मिलियन अमेरिकी डलर ऋण दिने छ । ७५ प्रतिशत ऋण र २५ प्रतिशत अनुदान रहेको उक्त ऋणको ब्याजदर भने २ प्रतिशत छ । आयोजनामा हालसम्म ४७ प्रतिशत काम सकिएको छ ।

२. गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
रुपन्देहीको भैरहवामा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरबका २३ आयोजना मध्येको एक हो । यो आयोजनामा पनि चिनियाँ ठेकेदारले नै काम गर्दैछ । चिनियाँ कम्पनीको नर्थ वेस्ट एभियसन कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेन्डरबाट सन् २०१७ डिसेम्बर ३१ सम्म सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।

विविध कारणले काम नकिएपछि सन् २०१८ को जुन महिना सम्मको थप म्याद पाएको थियो । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा अन्तराष्ट्रिय विमानस्थलको निर्माण भइरहेको हो । आगामी अंग्रेजी नयाँ वर्षबाट यो विमानस्थल सञ्चालन गर्ने लक्ष्यसहित काम भइरहेको छ ।

३. मेलम्ची खानेपानी आयोजना
मेलम्ची खानेपानी आयोजनामा निर्माणको बाँकी काममा पनि पुनः चिनियाँ कम्पनीले नै प्रवेश पाएको छ । यसअघि एउटा चिनियाँ कम्पनीले काम नगरेपछि यो आयोजनामा इटालियन ठेकेदार सीएमसी आएको थियो । तर, उसले काम गर्न नसकेपछि पुन भएको ठेक्कामा चीनको सिनो हाइड्रोले बाजी मारेको हो ।

आयोजनाले सिनोलाई समय आगावै काम सके प्रतिदिन १२ लाख ७५ हजार रुपैयाँ प्रोत्साहन भत्ता दिनेछ यदि काममा ढिलाई भए सिनोले दिनमा १२ लाख ५० हजार रुपैयाँका दरले जरिवाना तिर्नुपर्नेछ ।

यस अघि इटालियन कम्पनी सीएमसीले मेलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सक्ने जिम्मा उसैले पाएको छ ।

४. तामाकोसी जलविद्युत आयोजना
आगामी पुसबाट तामाकोसी आयोजनाको एउटा युनिट सञ्चालन गर्ने लक्ष्यसहित निर्माणका लागि काम भइरहेको तामाकोसी जलविद्युत आयोजना पनि चिनियाँ कम्पनीले नै बनाएको हो । यसको सिभिलतर्फको सबै काम सिनो हाइड्रोले गर्दैछ ।

सिनो हाइड्रोले आयोजनाको बाँध, मुहान, सुरुङ, विद्युतगृह लगायत सिभिल संरचनाको निर्माण १३ अर्ब ८६ करोड रुपैयाँमा बनाउने गरी ठेक्का पाएको थियो ।

५. भेरी–बबई डाईभर्सन आयोजना
राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङको ‘ब्रेक थू’ पनि चिनियाँ कम्पनीले नै गरेको हो । ०७४ कार्तिक मसान्तदेखि नेपालमै पहिलो पटक टनेल बोरिङ मेसिन (टीबीएम) को प्रयोग गरेर ०७६ चैत १५ सम्म सक्नुपर्ने सुरुङ निर्माण एक वर्ष अगाडि नै पूरा गर्ने काम चिनियाँ कम्पनीले गरेको थियो ।

साढे १० अर्बमा सुरुङको निर्माण भएको हो । यो आयोजनाको बाँकी काम पनि नेपालको कन्सट्रक्सनसँग चिनियाँ ज्वाइन्ट भेन्चर कम्पनीले नै पाएको छ ।

भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्र्स, पावरहाउस लगायतका संरचना निर्माणको ठेक्का चीनको रमणले ग्वाङ्डोन युनाटियनसँग मिलेर जेभीमा हात पारेको हो ।

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधारका लागि पनि चिनियाँ कम्पनीहरु नै काम गरिरहेका छन् । चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङले रन–वेको रिह्याब सकेर हाल दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रन–वे जोड्ने लिंक रोडको काम गरिररहेको छ । चिनियाँ कम्पनीले ४ अर्ब २७ करोड रुपैयाँमा रन–वे तथा ट्याक्सी वे लगायतको स्तरोन्नति काम गर्दैछ ।

यस्तै स्पेनिस कम्पनी कन्स्ट्रक्टोरा सान्जोशेले निर्माण कार्य अघि नबढाई ३ वर्ष रोकेर राखेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजनालाई तीन भागमा बिभाजन गरेर छुट्टाछुट्टै ठेक्का लगाएको थियो । त्यसमध्य रन–वे विस्तार अर्थात एनसीबी ००१ को जिम्मा चाइना सान्छीले पाएको छ ।

७. फोरजी विस्तार परियोजना
गत माघमा सम्झौता भई एक वर्षभित्र काम सक्ने गरि नेपाल टेलिकमको फोरजी र एलटीई सेवा विस्तारको काममा पनि चिनियाँ कम्पनी संलग्न छ । देशभर उक्त सेवा पु-याउने लक्ष्य साथ चिनियाँ कम्पनीले काम गरिरहेको टेलिकमले जनाएको छ । दुई साताअघि करिब ६० वटा शहरमा फोर–जी विस्तार भइसकेको छ । यो सेवा विस्तारका लागि टेलिकमले करिब १८ अर्ब खर्चिँदै छ

८. तनहुँ जलविद्युत आयोजना
तनहुँ हाइड्रोपावर लिमिटेडले आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजका काम चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेसन लिमिटेडलाई दिएको छ ।

कम्पनीसँग ११ करोड ४१ लाख ८९ हजार अमेरिकी डलर र ३ अर्ब ८३ करोड १४ लाख रुपैयाँ (मूल्य अभिवृद्धि कर बाहेक) मा खरिद सम्झौता भएको छ । तर, यो आयोजनामा चिनियाँ कम्पनीले अहिलेसम्म काम थालेको छैन । १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको मुख्य काम पनि चिनियाँ कम्पनीले पाएको हो ।

यो आयोजनाको कुल लागत ५० करोड ५० लाख अमेरिकी डलर मा निर्माण हुँदैछ एसियाली विकास बैंक(एडीबी)ले अमेरिकी डलर १५० मिलियन, जापान अन्तर्रा्ष्ट्रिय सहयोग नियोग (जाइका) ले अमेरिकन डलर १८४ मिलियन, युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)ले अमेरिकन डलर ८५ मिलियन र नेपाल विद्युत प्राधिकरणले अमेरिकी डलर ८७ मिलियन व्यर्होने गरी वित्तीय यो आयोजना बन्दै छ ।

९. अप्टिकल फाइबर विस्तार आयोजनाहरु
मध्यहपहाडी लोकमार्गमा अप्टिकल फाइबार विस्तार गर्ने आयोजनाहरुमा पनि चिनियाँ कम्पनीको बोलबाला छ । दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गारएर विभिन्न टेलिकम सेवा प्रदायकमार्फत लगाइएका ठेक्कामा चिनियाँ कम्पनीको बर्चस्व छ ।

प्राधिकरणले मध्यपहाडी लोकमार्गमा पुरै फाइबर बिछ्याउने योजना अन्तर्गत झण्डै १० अर्ब रकम खर्च गर्दैछ । हङकङको सीसीएसआई चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलले प्रदेश ३ को ५५५ किलोमिटरमा फाइबर बिछ्याउनेछ । हङकङको सीसीएसआई, सिंगापुरको सीटीएस कम्युनिकेसनले उपकरण आपूर्तिको जिम्मा पाएका छन् । यो कम्पनीले प्रदेश ५ का बाँके र बर्दियासहित ६ र ७ का मुगु, हुम्ला, अछाम, बाजुरा, बझाङ, डोटी, कैलाली, लगाएत १९ जिल्लामा फाइबर बिछ्याउँदैछ । प्रदेश १ मा भने कोरियन कम्पनीले काम पाएको छ ।

१०. नारायणगढ–बुटवल सडक विस्तार आयोजना
नारायणगढ–बुटवल सडकखण्ड निर्माणको जिम्मा पनि चिनियाँ कम्पनीले नै पाएको छ । यो आयोजनाका दुई वटै प्याकेज चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाएको हो ।

उसले प्याकेज–२ अन्तरगतको ठेक्कामा ७ अर्ब ८६ करोड र प्याकेज–१ मा ९ अर्ब १३ करोड रुपैयाँमा सम्झौता गरेको हो । ११५ किलोमिटर को सडकलाई दुईलेन बाट स्तरउन्नती गरि ४ लेनको बनाउने सडक विभावको तयारी छ ।

११. ऊर्जासम्बद्ध दर्जनौं आयोजना
चिनियाँ ठेकेदारहरु नेपालमा ऊर्जासम्बद्ध दर्जनौं आयोजनामा संलग्न छन् । विद्युत परियोजनाहरुमा कतिपय चिनियाँ कम्पनीहरुको कामगराइ निकै सुस्त र लापरवाहीपूर्ण छ ।

९० हजार ग्राहकको घरमा स्मार्ट मिटर जोडिने रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतको स्मार्ट मिटर डिजाइन, विश्व बैंकको सहयोगमा नुवाकोटमा निर्माणाधीन २५ मेगावाटको सोलार ऊर्जा आयोजना, सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत् आयोजना, चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माण भइरहेको आयोजना, कुलेखानी तेस्रो, मकवानपुरको भैंसेमा १४ मेगावाट क्षमताको निर्माणाधीन कुलेखानी–तेस्रोबाट बिजुली निकाल्न जेनेरेटर आपूर्ति, जडान र प्रशारणलाइनसम्म पहुँच विस्तारको ठेक्का पनि चिनियाँ कम्पनीले नै पाएको छ । कतिपय ठेक्कामा सन्तोषजनक काम गरिरहेका चिनियाँ कम्पनीहरु कतिपय काममा भने चुकेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);