चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

चीनका राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने

प्रधानमन्त्री ओलीद्धारा चिनियाँ राष्ट्रपतिको भ्रमणबारे पूर्व प्रधानमन्त्रीहरुसँग छलफल

काठमाडाैं, २३ असाेज । चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको क्रममा सुपुर्दगी सन्धी नहुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको शनिबार र आईतबार नेपालमा हुने राजकीय भ्रमणबारे पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्री एवम् विज्ञहरुसँगको छलफलमा परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले चीनसँग सुपुर्दगी सन्धि नहुने प्रष्टयाउनु भएको हो ।

अन्य राष्ट्रहरुसँग पनि छलफल गरेर सो प्रक्रियालाई अघि बढाउने तर चिनियाँ राष्ट्रपतिको भ्रमणमा सो सन्धिमा सम्झौंता नहुने कुरा बैठकमा सरकारको तर्फबाट परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले जानकारी दिनु भएको पूर्व परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण आफैंमा ऐतिहासिक भएको उल्लेख गर्दै त्यसमा सबै दलको साथ हुने विश्वास व्यक्त गर्नु भएको थियो ।

पूर्व प्रधानमन्त्रीहरुले चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमण ऐतिहासिक भएको उल्लेख गर्दै त्यसलाई सफल बनाउन पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिनु भएको थियो । सबै नेताहरुले चिनियाँ राष्ट्रपतिको भ्रमणलाई सफल बनाउन जोड दिनु भएको पनि पूर्व परराष्ट्रमन्त्री ज्ञवालीले बताउनु भयो ।

बैठकमा विज्ञहरुले नेपालको व्यापार घाटालाई कम हुने गरी मुलुकको आर्थिक विकासमा साझेदारीको विकास गर्न चीनसँग राष्ट्रपति सीको भ्रमणमा सरकारले जोड दिनुपर्ने सुझाव पनि दिएका थिए ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहित काँग्रेसबाट प्रतिनिधित्व गर्नुहुने पूर्व परराष्ट्रमन्त्रीद्धय डा. रामशरण महत र डा. प्रकाशशरण महतले चीनसँग ऋण नभई अनुदान सहायता लिएर रेल सेवा विस्तारको कामलाई अघि बढाउन पहल गर्न उपयुक्त हुने सुझाव दिनु भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिनु भयो ।

बैठकमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिको भ्रमणमा रेल, सडक, विद्युतीय ट्रान्समिसन लाईन विस्तारलगायतका कनेक्टिभीटीका विषयमा पनि छलफल हुने जानकारी गराउनु भएको थियो ।

चिनियाँ राष्ट्रपतिको २३ वर्षपछिको यो भ्रमणलाई सफल बनाउने विषयमा एजेन्डा तय गर्न प्रधानमन्त्री ओलीले पूर्व प्रधानमन्त्री, पूर्व परराष्ट्रमन्त्रीसहितको विज्ञहरुसँग सामूहिक छलफल गर्नु भएको हो ।

बैठकमा पूर्व प्रधानमन्त्रीहरु देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीको उपस्थिति रहेको थियो ।

पूर्व परराष्ट्रमन्त्रीहरु, चीनका लागि नेपालका राजदुत लिलामणी पौडेलसहित पूर्व राजदुतहरुको पनि बैठकमा सहभागी हुनु भएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);