राजपा र समाजवादी पार्टीबीचको एकिकरण प्रक्रिया अन्याेलमा | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

राजपा र समाजवादी पार्टीबीचको एकिकरण प्रक्रिया अन्याेलमा

रामनिवास यादव
काठमाडौं, १६ असोज । समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच हुने भनिएको एकीकरण प्रक्रिया अहिले सेलाएको जस्तै भएको छ । पटक पटकको वार्ता र छलफल निर्णायक हुन नसक्दा समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीचको एकिकरण प्रक्रिया अहिले कहाँ पुगेको छ भन्ने अत्तोपत्तो नै छैन ।

समाजबादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बीच पटक-पटकको वार्तापछि पनि पार्टी एकता हुन नसकेको कारण आम कार्यकता अन्यौलमा परेका छन् ।

हुन त समाजवादी पार्टी र राजपा नेपालबीच एकताको प्रयास विगत १० वर्षदेखि नै हुँदै आएको छ । तत्कालिन मधेशी जनअधिकार फोरम, राजपा नेपालमा रहेका तराई मधेश लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीबीच २ हजार ६६ सालदेखि नै एकीकरणका लागि प्रयास भएका थिए ।

तर उपेन्द्र यादवले अशोक राई नेतृत्वको संघीय समाजबादी पार्टीसँग एकता गरेपछि तत्कालिन मधेशी जनअधिकार फोरम, राजपा नेपालबीच एकताको प्रयास विफल भएको थियो ।

नयाँ शक्ति पार्टीसँग एकीकरण हुने बेला फोरम नेपालले राजपा नेपाललाई बोलाएर एकीकरणमा सहभागी हुन आग्रह गरेको थियो । त्यसको जवाफमा राजपा नेपालका नेताहरुले ‘केही दिन पर्खौँ छलफल गरौँ’ भनेपछि फोरमले नयाँ शक्ति पार्टीसँग एकता गरेको थियो ।

अहिले फेरी समाजबादी पार्टी र राजपा दुवै दल एकता गर्न सकारात्मक छन् तर थुप्रै पटकका प्रयास सफल हुन सकिरहेका छैनन् । छ महिना यता दुवैपार्टीबीच बिभिन्न चरणमा वार्ता भएपनि औपचारिक वार्ता नभएको तर एकताको सम्भावना रहेको राजपा नेपालका संयोजक महन्थ ठाकुर बताउनु हुन्छ ।

समाजवादी पार्टीका उप–महामन्त्री प्रकाश अधिकारीले भने सरकार छाड्ने कुरो ठुलो नभएको तर ,सैद्धान्तिक विषयलाई छलफल गरेर टुंगो लगाउन सकिने प्रतिक्रिया दिनु भयो ।

समाजवादी पार्टीले कार्यकारी राष्ट्रपतिको अवधारणा अघि सारेको छ भने राजपाले प्रधानमन्त्री कार्यकारीको अवधारणा राखेको छ । मधेश मामिलाका जानकार डाक्टर राजेश अहिराजले भने राजनितीक स्वार्थका लागि मात्र एकता हुन सक्ने तर्क अघि सार्नुभयो ।

राजनितीक स्वार्थ त्यागेर जनता र मुलकको हित चाहने हो भने एकिकरण टाढा छैन । एकिकरणका प्रयासबाटै उत्साहित बनेका कार्यकर्ताको चाहनाको कदर गर्ने हो भने पनि एकिकरण प्रक्रियालाई जतिसक्यो छिटो टुंग्याउनु पर्ने अबस्था आइसकेको छ ।