काठमाडौं, १४ असोज । सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ।
संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरेका हुन्।
विज्ञप्तिमा महरामाथि लागेका आरोप सबै कपोकल्पित भएको उल्लेख गरिएको छ। ‘सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ। यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु।’
विज्ञप्तिमा मल्ले सभामुख महरामाथि लागेको आरोप कल्पनासम्म गर्न नसकिने उल्लेख गरेका छन्। ‘समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन’, विज्ञप्तिमा भनिएको छ, ‘हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।




