खसी बोका किन्दा कसरी चिन्‍ने स्वस्थ र अस्वस्थ ? | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

खसी बोका किन्दा कसरी चिन्‍ने स्वस्थ र अस्वस्थ ?

khasi-boka

काठमाडौं, १३ असोज । शुद्ध र स्वस्थ मासुका लागि सिङमा हरियो चिन्ह भएका खसीबोका मात्र खरिद गर्न सरकारले सुझाव दिएको छ। पशु सेवा विभागले स्वस्थ खसीबोकाको सिङमा ‘हरियो’ र अस्वस्थलाई ‘रातो’ चिन्ह लगाएर मात्र बजारमा पठाउने अभियान सुरु गरेको छ।

अभियान आइतबारदेखि सुरु भएको छ। खसीबोकाको अत्यधिक कारोबार हुने कलंकी, बालाजु बाइपास, टुकुचा बजार, लोकन्थली, सल्लाघारी, साँगा, सतुंगल र चोभारमा अस्थायी रूपमा पशु चिकित्सकको टोली परिचालन गरी खसीबोकाको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। सतुंगल र चोभारमा राँगाको समेत स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। विभागकी उपमहानिर्देशक डा.सम्झना काफ्लेले यो अभियान एक सातासम्म सञ्चालन हुने जानकारी दिइन्। प्रत्येक टोलीमा एक वरिष्ठ पशु चिकित्सक र चार जना सहायक पशु चिकित्सक गरी पाँचजना खटाइएको छ।

काफ्लेअनुसार पशु चिकित्सकले दसैंमा उपभोग गर्न ल्याइएका खसीबोकाको बाहिरी रूपमा देखिने रोगका लक्षण, मुटुको ढुकढुकी र शंका लागेमा रगतको नमुनाका आधारमा अध्ययन गरेर स्वस्थ ठहरिएकाको सिङमा हरियो र अस्वस्थ ठहरिएकाको सिङमा रातो चिन्ह लगाउने व्यवस्था गरिएको छ।

बिक्रीस्थलमा हरियो र रातो चिन्ह हेरेर मात्रै खसीबोका खरिद गर्न विभागले आग्रह गरेको छ। ‘दसैंको मौका छोपेर व्यापारीले रोग लागेका खसीबोका उपभोक्तालाई बिक्री गर्ने सम्भावना हुन्छ’, डा.काफ्लेले भनिन्, ‘मानव स्वास्थलाई ध्यान दिँदै सरकारले उपत्यका भित्रिने खसीबोकाको स्वास्थ्य परीक्षण गरी रङ लगाउने कार्य सुरु गरेको हो।’

पशु चिकित्सकले खसीबोकाको बाहिरी क्षेत्र नाक र मुखबाट सिँगान र र्‍याल बगेको, मलद्वारबाट पातलो दिसा भएर शरीरको पछाडिको भागमा यत्रतत्र टाँसिएको, चोटपटक लागेर वा संक्रमण रोगबाट कानमा घाउ भएको वा रगत बगेको, शरीरको तापक्रम पहिचान गरी हरियो र रातो रङ प्रदान गर्नेछन्। यो समाचार आजको अन्नपुर्ण पोस्ट्मा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);