सीता शर्मा
काठमाडौं, १० असोज । २० लाख पर्यटक भित्र्याउने उद्देश्यका साथ नेपाल भ्रमण वर्ष २०२० को तयारी अहिले तीब्र छ । तयारी तीब्र भनी सरकारी तहबाट दाबी गरिएको प्रचार व्यापक भइ रहँदा पर्यटक घुम्ने मुख्य पर्यटकीय सम्पदाहरुको पुननिर्माण भने अझै सकिएको छैन ।
विश्वसम्पदा सूचीमा सुचिकृत उपत्यकाका दरबारहरु अझै भूकम्पको चपेटामा छन् । भूकम्प गएको ४ वर्षमा बित्दा महत्वपूर्ण सम्पदाहरुको ५० प्रतिशत काम सकिन अझै बाँकी छ ।
बाह्य तथा आन्तरिक पर्यटकको केन्द्रका रुपमा रहेका धार्मिक एवम् सांस्कृतिक सम्पदा २०७२ सालको महाभुकम्पको चपेटामा परे । देशका ३१ जिल्लाका ८ सय ९१ ऐतिहासिक सम्पदामा क्षती पुगेको सरकारी तथ्याङक छ ।
काठमाडौ उपत्यका भित्रका तिन जिल्ला काठमाडौ, भक्तपुर र ललितपुरका मात्र ४ सय ६० ऐतिहासिक दरबार र मठमन्दीरमा क्षती पुगेको थियो । पुरातत्व विभाग मार्फत क्षती पुगेका सम्पदाको पुर्ननिमार्ण थालिएपनि अहिले सम्म ३ सय ८० सम्पदाको मात्र पुर्र्ननिमार्ण सकिएको विभागले जनाएको छ ।
जसमा केहि पुनर्निर्माणको चरणमा रहेपनि कतिपयको भने पुनर्निर्माण नै सुरु हुन सकेको छैन । खासगरी उपत्यकाका प्राचीन दरबार र मठमन्दीरले बाह्य पर्यटकलाई आकर्षित गरीरहेका थिए ।

त्यसैलाई ध्यानमा राखि पुरात्तव विभागले विश्वसम्पदा सुचिका सम्पदाहरुको पुनर्निर्माण तिव्र रुपमा गरीरहेको बताएको छ । सन् २०२० मा पर्यटन वर्ष मनाउने सरकारको योजना अनुरुप विश्वसम्पदा सुचिमा सुचिकृत दरबार क्षेत्रलाई विशेष महत्वका साथ पुनर्निर्माणमा जोड दिएको पुरातत्व विभागको भनाई छ ।
महत्वपुर्ण सम्पदा मध्ये ५० प्रतिशत पुनर्निर्माण सकिएकोे पुरातत्व विभागले जनाएको छ । पर्यटकलाई आकर्षण गर्ने उपत्यकाका महत्वपुर्ण पुरातत्वीक सम्पदा मध्ये धरहरा र रानीपोखरी अहिले पुनर्निर्माणको सुरुवाती चरणमा रहेका छन्।
नीजी आवास र सार्वजनीक भवन भन्दा पुरात्वीक सम्पदाहरुको पुनर्निर्माण केहि कठिन हुने हुनाले पनि यसको पुनर्निर्माणमा ढिलाई भएको पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताउनुभयो ।
काठमाडौ उपत्यकाका सम्पदा भन्दा बाहिरी जिल्लाका सम्पदा पुनर्निर्माणमा अझ ढिलाई देखिएको छ । गोरखा दरबार, नुवाकोट दरबार साथै दोलखाका जिल्लाहरुका सम्पदाहरुको पुर्ननिमार्ण को चरणमा रहेपनि त्यसका लागी आवश्यक सामाग्रीको अभावले कठिनाई भोग्नु परेको विभागले जनाएको छ ।
नेपालका धार्मिक तथा ऐतिहासीक पुरात्वीक सम्पदा पर्यटक भित्र्याउने मुख्य केन्द्रका रुपमा रहेका छन् । प्राचीन कला र संस्कृतिका प्रतिक यी सम्पदाहरुले पर्यटकलाई आकर्षण गर्ने गर्दछन् । त्यसैले यि सम्पदाको पुनर्निर्माण तिव्रगतिमा हुन सके सरकारको भ्रमण वर्ष योजनालाई सफल बनाउन पनि सहयोग पुग्ने देखिन्छ ।




