पाँच वर्षमा सक्ने भनिएको सम्पदा पुनर्निर्माण ४ वर्षसम्म २८ प्रतिशतमा सिमित | ईमाउण्टेन समाचार

Our Network

असोज ९ २०८३, शनिबार

पाँच वर्षमा सक्ने भनिएको सम्पदा पुनर्निर्माण ४ वर्षसम्म २८ प्रतिशतमा सिमित

sampada punarnirman

फूलमाया आले

काठमाडौं, १३ फागुन । विक्रम संवत २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण जारी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांक अनुसार २०७२ को भूकम्पबाट देशभरका सात सय ५३ वटा सम्पदा क्षतिग्रस्त भएका छन् । त्यसमध्ये ललितपुरमा मात्र करिब २ सय भन्दा बढी सम्पदा क्षति पुगेको छ । क्षति पुगेको सम्पदा मध्य कतिको पुनर्निर्माण भएको छ त ?

२०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त भएका ऐतिहासिक सम्पदाहरुको पुनर्निर्माण देशभर जारी छ । तर, पूर्णरुपमा क्षति पुगेका ठुला सम्पदाहरुको निर्माण सम्पन्न हुन सकेको छैन । भूकम्पका कारण आशिंक मात्र क्षति पुगेका सम्पदाहरुको भने धेरै निर्माण सम्पन्न भएको छ । उक्त भूकम्पका कारण क्षति पुगेका ७ सय ५३ सम्पदा मध्ये २ सय १२ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकले देखाउछ ।

त्यस्तै काठमाडौ उपत्यकाका मात्र चार सय ९४ सम्पदामा क्षति पुगेको छ । ती ७ सय ५३ वटा सम्पदा मध्ये ललितपुर जिल्लामा मात्र करिब २ सय भन्दा बढी सम्पदामा क्षति पुगेको छ । क्षतिग्रस्त संरचनाको पुनिर्माणको गति ललितपुरमा तिब्र देखिएको छ । जिल्लाको पाटन दरबार क्षेत्र लगायत अन्य ठाँउहरुमा क्षति पुगेको सम्पदा मध्ये पाटनको कृष्ण मन्दिर, ललिपुरको तलेजु र मुलचोकको छाना, मंगलबजार मंगहिटीस्थित सोह्रखुट्टे पाटि, पाटन दरवार क्षेत्र अन्तर्गत सुन्दरीचोकको पूर्वीलंगको संरक्षण, पाटन भिमसेन मन्दिर अगाडिको सिंहको मूर्ति, पाटन दरवार अगाडिको योगनरेन्द्र मल्लको शालिक, पाटन मंगलबजारस्थित मन्त्रिमण्डप लगायतकमो निर्माण सम्पन्न भइसकेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र पुरातत्व विभागले भूकम्प गएको ५ वर्षभित्रमा क्षति पुगेका सम्पूर्ण ऐतिहासिक सम्पदाको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको थियो । तर, पुरातत्व विभागले सन्तोषजनके पुनर्निर्माणको काम भइरहेको दावी गरिरहेपनि चार वर्षसमा अहिलेसम्म जम्मा २८ प्रतिशत सम्पदाको मात्र पुनर्निर्माण सम्पन्न भएको छ । त्यस्तै ३० प्रतिशत निर्माणाधीन अवस्थामा छ भने ४२ प्रतिशतको निर्माण कार्य अहिलेसम्म सुरु हुनै सेकेको छैन ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, दातृनिकाय, स्थानीय तह लगायतका विभिन्न निकायको सहकार्यमा सम्पदा पुनर्निर्माण भइरहेको छ ।