दाहालको अभिव्यक्तिप्रति राजनीतिक दलका युवा नेताहरु सशंकित | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८१, सोमबार

दाहालको अभिव्यक्तिप्रति राजनीतिक दलका युवा नेताहरु सशंकित

prachanda

तेजना पण्डित

काठमाडौं, १ असोज । नेकपाका अध्यक्ष पुष्पकमल दाहालका पछिल्ला अभिव्यक्ति फरक धार र चर्चाको विषय हुने गरेको छ । गणतन्त्र गुम्ने खतरा बढ्यो भनेर बारम्बार अभिव्यक्ति दिंदै आउनु भएका अध्यक्ष दाहालले अचेल गणतन्त्र विरोधीलाई प्रतिगामी तत्व भन्दै त्यसविरुद्ध प्रतिवाद गर्न कार्यकर्तालाई खुलेआम निर्देशन दिनु भएको छ ।

सत्तारुढ दलका अध्यक्षले नै आफ्ना कार्यकर्तालाई यसरी प्रतिबाद गर्न निर्देशन दिएपछि एकातिर अभिब्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठेको छ भने अर्काेतिर कतै मुठभेडको स्थिति त निम्तिने होइन भन्ने चिन्ता र चासो बढेको छ ।

छोटो छोटो समयमा सरकार परिर्वतन हुँदा विकास निर्माणका कामहरुले गति लिन नपाएको अनुभव गरेका जनताले पाँच बर्ष सरकार चलाउने जनादेशका साथ नेकपालाई बहुमत मिल्यो । त्यही बहुमतका आधारमा अहिले सरकार संचालनको जिम्मा नेकपाले पाएको छ ।

तर बहुमतको सरकारसँग जनताको जुन अपेक्षा थियो त्यो पूरा हुन नसकेको गुनासो बढिरहेको छ । भ्रष्टाचार बढेको,करको दर बढाएको, जनप्रतिनीधिहरु सुबिधाभोगी भएको एनसेलबाट अर्वौको रकम कर उठाउन नसकेको,वाइडबडी लगाएतका भ्रष्टाचार प्रकरण बाहिर आएको छ । यसले जनतामा निराशा बढ्दै गएको छ । परिणाम, खुलेर सरकार र जनप्रतिनीधिको विरोधमा चर्काे आवाज सडकदेखि सदन र संचार माध्यमदेखि सामाजिक सञ्जालहरुमा बढिरहेको छ । यस्तो अवस्थामा जनताको निराशालाई संबोधन गर्नुपर्नेमा उल्टै प्रतिवाद र प्रतिकार गर्न निर्देशन दिइएको छ ।

केही समय अघि सरकारको विरुद्धमा बोल्नेहरुलाई अरिंगाल जस्तै बनेर जाइलाग्नु भनेर प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई निर्देशन दिनु भएको थियो । हाल अर्का अध्यक्ष पुष्पकमल दाहालले बर्तमान व्यवस्थाका विरुद्धमा बोल्नेहरुलाइ प्रतिबाद गर भनेर अभिव्यक्ति दिनु भएको छ । यसबाट सरकार अधिनायकबादतर्फ लाग्न खोजेको कांग्रेसका युवा नेताहरुको आरोप छ ।

सरकारले जन चाहना अनुसार काम गर्न नसकेको सत्तापक्ष कै नेताहरु बताइ रहेका छन् । निराश भएका जनता पनि आक्रोस पोखिरहेका छन् । तर अहिले सरकार आफ्नो आलोचना सहन नसकिरहेको जस्तो देखिन्छ । नेकपाक अध्यक्ष प्रचण्डको अभिव्यक्तिलाई त्यसैगरी सबैले बुझिरहेका छन् ।

विपक्षी दल कांग्रेस र राजपाका युवा नेताहरुको विश्लेषणप्रति सत्ता पक्षका युवा नेताहरु सहमत देखिंदैनन । उनीहरु पार्टी अध्यक्षले प्रतिबाद गर भन्नुको अर्थ वर्तमान ब्यवस्थालाइ संथागत गर्न यसका राम्रा पक्षहरु जनताका समक्ष बिभिन्न कार्यक्रमहरु संचालन गर्नु भएको भन्दै व्याख्या गरिरहेका छन् । नेकपाका युवा नेता सुबोध सिर्पालीको बुझाइ यस्तेै छ ।

केहि दिन अघि पर्यटन मन्त्री योगेश भट्टराईका कारण हवाइ उडानमा ढिलाइ भएको विवादित विषय अहिले चर्चित छ । भ्रष्टाचार बिरोधी अभियन्ता भनिएका ज्ञानेन्द्र शाही र राजाबादीहरुले यस्तो कार्य गरेको भनेर पर्यटनमन्त्रीले बिज्ञप्ति निकाल्नु, राष्टीय युवा संघ नेपालले कास्कीमा प्रवेश निषेध भनेर विज्ञप्ति निकाल्नु र एउटा पत्रकार सम्मेलनमा आक्रमण हुनुलाई अध्यक्ष प्रचण्डको आदेशको हुबहु पालना भएको हो भनेर बुझ्नलाई कठिन छैन ।

त्यसैगरी नेपाली कांग्रेसको दोश्रो चरणको जागरण अभियानमा नेकपाका नेताहरुले हातपात गरेको र कांग्रेस बाँके सभापति किरण कोइरालाको हात भाँचियको घटनालाई पनि नेकपा शीर्ष नेतृत्वका भड्किलो आदेशसंगै जोडिएर हेरिएको छ । किटानी जाहेरी दिदा पनि नेकपाका नेताहरु पक्रिन नसकेको भनेर सदन अवरुद्ध भइरहेको छ । सरकार र व्यवस्था विरोधी विरुद्ध प्रतिवादमा उत्रिनु भनेर सत्तारुढ दलको शीर्ष नेतृत्वबाट भएको भड्किलो अभिव्यक्तिले अब मुलुक कता जान्छ भन्ने चिन्ता अहिले सर्वत्र छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);