आपूर्तिमन्त्री यादवले पोखे मिडियामाथि आक्रोश | ईमाउण्टेन समाचार

Our Network

मंसिर १६ २०८१, आइतबार

आपूर्तिमन्त्री यादवले पोखे मिडियामाथि आक्रोश

काठमाडौं, २८ भदौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले छापामा आएका समाचारको विषयलाई लिएर संचारजगत प्रति रोष प्रकट गर्नुभएको छ ।

राजधानी काठमाडौंमा शुक्रबार आयोजित साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडको ५७ औ बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्ने क्रममा उहाँले सम्पुर्ण प्रेस जगतप्रति आक्रोश पोख्नुभएको हो ।

उहाँले पत्रिकाका मालिकहरु व्यापारी पनि भएकाले आफु अनुकुलका समाचार लेखाउने गरेको आरोप लगाउनुभयो । उहाँले कालोबजारी, तस्कर, भ्रष्ट र विगतमा देश लुटेको पैसा मिडियामा लगानी गरेकाहरु नै आफु र सरकार विरुद्ध उत्रिएको आरोप समेत लगाउनुभयो ।

उहाँले भन्नुभयो “पत्रिकाका मालिकहरु पनि व्यापारी छन् । खुद पत्रिका मात्रै चलाएर बसेका छैनन् । ठूला ठूला व्यापारी छन् । कतिपय मिडियाहरु त कालाबजारी र तस्करहरुको छ । भ्रष्ट, विगतमा देश लुटेको पैसा लगानी गरेको मिडियाहरु पनि छन् ।”

उहाँले मिडियाले समाचार छापेर आफुसंग पैसाको बार्गेनिङ गरेको पनि दाबी गर्नुभयो । राज्यको चौथो अंग भन्ने मिडिया सधै प्रतिपक्षीको भूमिकामा रहेको उल्लेख उहाँले बार्गेनिङ गर्न खोज्नेप्रति ‘मिडिया म्यानेज’ गर्न नजाने बताउनुभयो ।

उहाँले भन्नुभयो “आक्रामक हुनुपर्छ रे । नभएको कुरा पनि लेख्दिनुपर्छ भन्ने छ । अनि त्यसपछि ती मन्त्रीहरु म्यानेज गर्न आउँछन् । ती कर्मचारीहरु म्यानेज गर्न आउँछन् । जे जे लेखे पनि मात्तृका कहिल्यै पनि म्यानेज गर्न जाँदैन । म त्यो कहिल्यै पनि गर्दिन । बरु लेखोस्, जे जे लेखोस् लेखोस् ।”

उहाँले जबरजस्ती पत्रिकाहरुले सरकारलाई साल्टट्रेडिङ्गको विरोधमा उभ्याउने काम गरेको आरोप पनि लगाउनुभयो ।

सरकारले निकासी पैठारी सम्बन्धमा अत्यावश्य वस्तु आयातको बारेमा मात्रै भिन्न व्यवस्था गरेको भएपनि साल्टट्रेडिङ्ग कर्पोरेशनले गर्दै आएको काम निजी क्षेत्रलाई दिने कुनै निर्णय नभएको स्पष्ट पार्नुभयो ।

सधै मिडिया प्रति आक्रमक देखिने मन्त्री यादवले शुक्रबार पनि आफ्नो सम्बोधनको अधिकांश समय मिडिया क्षेत्रमाथिको आक्रोश र असन्तुष्ठी मै खर्च गर्नुभएको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);