लुटपाटमा भगौडा सेनासँगै विप्लव कार्यकर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

लुटपाटमा भगौडा सेनासँगै विप्लव कार्यकर्ता

pakrau

काठमाडौं, २३ भदौ । नेपाली सेनाका भगौडा सिपाही र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका रसुवा सदस्यसहित आठ जना गोङ्गबुस्थित नयाँबसपार्कबाट दुई थान अवैध हतियारसहित पक्राउ परेका छन् ।

बुवाको उपचार गर्न राजधानी आउनुभएका नवलपरासी बर्दघाटका सुन व्यापारी योगेश विकलाई गोङ्गबुस्थित मुस्ताङ गेस्टहाउसमा बोलाई हतियार देखाएर लुटपाट गरेको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौँले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो । परिसरका प्रहरी उपरीक्षक अशोक सिंहका अनुसार पक्राउ पर्नेहरूमा गोङ्गबुस्थित होई रेस्टुराँ एन्ड डान्स बारका सञ्चालक गोरखाका कुशल अधिकारी सेनाका भगौडा र रसुवा छेदिङका योर्साङ घले विप्लवका कार्यकर्ता हुन् । उनीहरूका साथबाट बरामद दुईवटै पेस्तोल द्वन्द्वकालमा प्रहरीबाट लुटिएको हतियार भएको दाबी प्रहरीको छ ।

त्यस्तै हतियार देखाई लुटपाट घटनामा संलग्न रहेको अभियोगमा हाई रेस्टुराँ एन्ड डान्सबारका सञ्चालकहरू नुवाकोट तारकेश्वरका रामबहादुर तामाङ, नुवाकोट विदुरका धर्मराज तामाङ, पिटर तामाङ, विजय तामाङ, सहयोगीहरू गुल्मीका युवराज भण्डारी र राजन तामाङ छन् ।

यो समूहले डान्स रेस्टुराँमा आउने ग्राहकलाई समेत हतियार देखाई ‘ओभरबिलिङ’ गरी धम्की दिने र जबर्जस्ती रकम तिर्न लगाउने गरेको जानकारी प्रहरीले दिएको छ । यो समूह राति डान्स रेस्टुराँमा असुल्ने, दिउँसो लुटपाट, धम्की र गुण्डागर्दीमा संलग्न हुने गरेको परिसरका प्रहरी उपरीक्षक सिंहले बताउनुभएको हो ।

उनीहरूका साथबाट बरामद ‘मेड इन चाइना’ लेखिएको दुई थान पेस्तोलका साथै चार राउन्ड गोली बरामद भएको छ । अभियुक्तहरूले सुन व्यापारी विकको साथमा रहेको झोलासमेत लगेका थिए । झोलामा नगद रहेको विश्वास गरी लुटे पनि कागजपत्र मात्र रहेको पीडितले बताएका हुन् ।

आफूसँंग एक किलो सुन छ भन्दै उनीहरूले व्यापारी विकलाई सुन खरिद गर्न बोलाएका थिए । बुवाको उपचारसँगै सुन खरिद गर्ने गरी काठमाडौँ आएको २४ घन्टा नबित्दै विकलाई होटेलको एउटा कोठामा बन्दी बनाई हामी प्रहरी हँु भन्दै पेस्तोल तेस्र्याएर झोला बोकेर उनीहरू भागेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);