८६ हजार कर्मचारीमा कोही छैनन् ‘सुपरस्टार’? कर्मचारीको कार्यक्षमतामाथि नै प्रश्न | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

८६ हजार कर्मचारीमा कोही छैनन् ‘सुपरस्टार’? कर्मचारीको कार्यक्षमतामाथि नै प्रश्न

nijamati karmachari

काठमाडौं, २२ भदौ । देशभर ८६ हजार बढी निजामती कर्मचारी छन् । तर, सरकारले तीमध्ये सर्वोत्कृष्ट काम गर्ने कर्मचारी भेट्न सकेको छैन । सरकारले निजामती सेवा दिवसको अवसरमा प्रत्येक वर्ष एक जनालाई सर्वोत्कृष्टसहित ४१ जना कर्मचारीलाई पुरस्कृत गर्नुपर्ने कानुनी प्रावधान छ । तर, सो प्रावधानअनुसार सरकारले एक जना सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा ४० जना मात्रै पुरस्कृत हुने भएका छन् ।

स्रोतका अनुसार ४० जनालाई पुरस्कार प्रदान गर्न मुख्य सचिवको अध्यक्षतामा रहेको पुरस्कार सिफारिस समितिले सरकारलाई सिफारिस गरेको छ । समितिको सिफारिसबमोजिम सरकारले आइतबार पुरस्कृत कर्मचारीबारे अन्तिम निर्णय गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सरकारले गत वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न सकेको थिएन् । कानुनअनुसार प्रत्येक वर्ष एक जनाले पाउनुपर्ने सर्वोत्कृष्ट निजामती सेवा पुरस्कारको राशि २ लाख छ । सरकारले १ लाखको उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने १० जना र र ५० हजारको निजामती सेवा पुरस्कार पाउने ३० जनाको नामावली भने निजामती सेवा दिवसका दिन (आज) घोषणा गर्छ । सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसकेपछि कर्मचारीको कार्यक्षमतामाथि नै गम्भीर प्रश्न उठेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार गत वर्ष पनि ४० जनालाई मात्र पुरस्कार प्रदान गरिएको थियो । उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी नभेटिएपछि ४० जनालाई मात्र पुरस्कार दिइएको थियो । यो वर्ष पनि निजामती सेवा पुरस्कारका लागि १५५ कर्मचारीको नाम सिफारिस भएको थियो । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बरालका अनुसार मन्त्रालयले विभिन्न मन्त्रालयबाट सिफारिस भई आएका नाम छनोट समितिमा पठाएको हो । ‘हामीले विभिन्न मन्त्रालयबाट सिफारिस नाम छनोट समितिमा पठाएका छौं । यी नाममध्येबाट ४१ जना छनोट हुन्छन् । छनोट गर्ने जिम्मा समितिको हो, मन्त्रालयलाई जानकारी हुँदैन,’ बरालले भने ।

मन्त्रालयले पठाएका नामलाई मुख्यसचिवको अध्यक्षतामा रहेको छनोट समितिले छनोट गरी पुरस्कारका लागि सिफारिस गर्छ । सोही आधारमा सरकारले निजामती सेवा दिवसको अवसर पारेर पुरस्कार प्रदान गर्दै आएकोे छ । यो वर्ष पनि संघीय सरकारअन्तर्गत विभिन्न मन्त्रालय तथा निकायमा रहेर कार्यसम्पादन गर्दै आएका कर्मचारीलाई पुरस्कृत गर्ने सरकारको तयारीबीच सुपरस्टार कर्मचारी नभेटिएको हो । यो समाचार आजको राजधानी दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);