काठमाडौं, १७ भदौ । सर्वोच्च अदालतले भदौ २० गतेकोलागि तय भएको नेपाल ओलम्पिक कमिटीको कार्यसमिति निर्वाचन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
ओलम्पिक कमिटीका सदस्य कमलबहादुर चित्रकारले राष्ट्रिय मान्यता नपाएको ओलम्पिक कमिटीको चुनाव रोक्न माग गर्दै दायर भएको रिटमा सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको इजलासले अन्तरिम आदेश जारी गरेको हो ।
आदेशमा दुवै पक्षलाई निर्वाचन रोकेर भदौ २२ गते उपस्थित हुन भनिएको छ । चित्रकारले सरोकारवाला १२ जना व्यक्ति तथा संस्थालाई विपक्षी बनाउँदै गत आइतबार मुद्दा दायर गरेका थिए । फैसलासंगै भदौ २० गतेका लागि तय भएको निर्वाचनको तालिका अन्यौलमा परेको छ ।