बलात्कारपीडितलाई घर छाड्न दबाब | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बलात्कारपीडितलाई घर छाड्न दबाब

rape

काठमाडौं, ११ भदौ । झापा मेचीनगर–९ को वडा कार्यालयले घर छाड्न दबाबसहितको पत्र पठाएपछि बलात्कारमा परेकी किशोरी र उनका परिवार चिन्तामा छन् । किशोरीकी आमाले भनिन्, ‘घर मात्रै हैन, गाउँबाटै लखेट्ने योजना बनिरहेको छ ।’

भूमिहीन डोम परिवार मजदुरी गरेर जीविका चलाउँछन् । गाउँबाटै विस्थापित हुनुपर्ने डरले उनीहरू त्रस्त छन् । आमाले भनिन्, ‘घर छैन, हामीलाई डेरा पाउनै मुस्किल हुन्छ ।’ वडाध्यक्ष गोपाल खड्काले किशोरीका पिताको नाममा भदौ ४ मा चिठी काटेका थिए । घरधनी स्थानीय पुष्पा खडकाको निवेदनका आधारमा उनीहरूलाई चिठी काटिएको वडाध्यक्ष खड्काको भनाइ छ । घरधनीले लामो समयदेखि घरभाडा नबुझाएको जनाउँदै वडा कार्यालयमा निवेदन दिएकी थिइन् । ‘घरधनीकै निवेदनका आधारमा सत्यतथ्य बुझ्न चिठी काटेका हौं,’वडाध्यक्ष खडकाले भने ।

पीडित परिवारका अनुसार भाडा नतिरेर डेराबाट निकाल्न लागिएको भने होइन । करिब तीन महिनाअघि एउटा बलात्कारको घटना सार्वजनिक भयो । १७ वर्षीया किशोरीलाई घरमा कोही नभएको मौकामा पुष्पाका पति विष्णुले ब्ल्याकमेलिङ गर्दै बलात्कार गर्दै आएका रहेछन् । पहिला खड्काले किशोरीको परिवार बस्ने घरको भुइँतलामा भट्टी पसलसमेत सञ्चालन गरेका थिए । त्यही समयमा उनीमाथि उनले बलात्कार गर्ने गरेको तथ्य बाहिर आएको थियो ।

गत असार २ मा धुलाबारीका स्थानीयले आपत्तिजनक अवस्थामा फेला पारेपछि घटना बाहिर आएको थियो । आरोपी विष्णु खड्का त्यही बेलादेखि फरार छन् । किशोरीमाथिको बलात्कार घटना बाहिर आएपछि स्थानीय अगुवाहरू नै पैसा दिएर मिलाउने पक्षमा अग्रसर देखिएका थिए । तर पीडितकी आमाले छोरीमाथिको जघन्य अपराधविरुद्ध आफू अदालतसम्म पुग्ने बताइन् । ‘पैसा लिएर मिल्नु भन्ने धेरै आइसके तर म कुनै हालतमा मिल्ने पक्षमा छैन । मेरी छोरीले न्याय पाउनुपर्छ ।’यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);