स्थापना भयो पहिलो फलाम उद्योग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

स्थापना भयो पहिलो फलाम उद्योग

falam-khani

काठमाडौं, ९ भदौ । गण्डकी प्रदेशको नवलपुरस्थित धौवादीमा फलाम उद्योग स्थापना गर्न स्वीकृति दिइएको छ । मन्त्रिपरिषद्को निर्णयबाट फलाम खानी स्थापना गर्न स्वीकृति दिइएको हो । सरकारको यो निर्णयसँगै फलामको व्यावसायिक उत्पादन प्रक्रिया अगाडि बढ्नेछ । सङ्घीय मन्त्रिपरिषद्को भदौ पहिलो हप्ता बसेको बैठकले त्यहाँ ‘धौवादी फलाम खानी लिमिटेड’ स्थापना गर्ने निर्णय गरेको हो ।

नवलपुरको होप्से गाउँपालिकास्थित धौवादी फलाम खानी उत्खनन गर्नका लागि फलाम कम्पनी स्थापना गर्ने सरकारको निर्णयसँगै औद्योगिक क्षेत्रमा नयाँ आयाम थपिएको छ । सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादनका लागि तीन स्तरबाट काम अगाडि बढाइएको छ । सरकारले धौवादी फलाम खानी लिमिटेड स्थापना गर्ने निर्णय गरी कम्पनी दर्ता तथा सञ्चालनको प्रशासनिक प्रक्रिया अगाडि बढाएको छ ।

यस्तै खानी तथा भूगर्भ विभागले फिजिबिलिटी स्टडी, वातावरणीय अध्ययन र थप ड्रिलिङको काम अगाडि बढाएको छ । त्यसैगरी सो ठाउँबाट उत्पादन हुने फलामको औद्योगिक परीक्षण अहिले चीनको छेन्दुमा भइरहेको छ । यसअघि सो ठाउँको प्रयोगशाला परीक्षण सम्पन्न भई प्रतिवेदनसमेत आइसकेको छ ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक डा. सोमनाथ सापकोटाले फलाम खानीबाट फलाम निकाल्न सकिन्छ भन्ने कुरा प्राविधिक रूपमा प्रमाणित भइसकेपछि त्यसकै आधारमा सरकारले कम्पनी स्थापना गर्ने निर्णय गरेको बताउनुभयो । उद्योग स्थापना गर्ने सरकारको निर्णयसँगै सो क्षेत्रमा फलामको व्यावसायिक उत्पादन प्रक्रियाले थप तीव्रता लिने उहाँले बताउनुभयो । साथै उहाँले यो नेपालकै पहिलो फलाम उद्योग भएको दाबी पनि गर्नुभयो ।

विभागका सूचना अधिकारी कृष्णदेव झाले सरकारको पहिलो प्राथमिकतामा रहेको यस फलाम खानीको व्यावसायिक उत्पादनका लागि उद्योग स्थापना गर्ने सरकारको निर्णयसँगै चालू आर्थिक वर्षमा थप तीन सय मिटर ‘ड्रिलिङ’ गर्ने, सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्याङ्कन कार्य सम्पन्न गर्ने निर्णय खानी तथा भूगर्भ विभागले गरेको जानकारी दिनुभयो । त्यसैगरी चालू आर्थिक वर्षमा नै सो क्षेत्रको ढुङ्गाको परीक्षणको काम सम्पन्न गरिने जानकारीसमेत उहाँले दिनुभयो ।

उहाँले कति क्षमताको कम्पनी राख्ने, प्लान्ट कहाँ राख्ने लगायतका कुरा अहिले निर्णय हुन बाँकी रहेको बताउनुभयो । पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरको दूरीमा रहेको गण्डकी प्रदेश, नवलपुर जिल्ला, होप्सेकोट गाउँपालिका अन्तर्गतको पश्चिममा नाम्जाकोटदेखि पूर्वमा धौवादी क्षेत्रसम्म करिब १६० वर्गकिलोमिटर क्षेत्रमा फलामको कच्चा पदार्थ फैलिएको छ । दस किलोमिटर लम्बाइ र २५ देखि ३० मिटर चौडाइ भएको फलाम खानीको भण्डार रहेको अन्वेषणमा भेटिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा लेखेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);