काठमाडौं, २१ साउन । ह्वासिङ सिमेन्टबारे छलफल गर्न मंगलबार बोलाइएको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ ।
चिनियाँ लगानीमा निर्माणाधिन सो सिमेन्ट उद्योगबारे विस्तृत छलफल गर्न मंगलबार सिंहदरबारमा बोलाइएको बैठक उद्योग सचिव यामकुमारी खतिवडा अनुपस्थित भएपछि र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी अनुपस्थित भएका कारण स्थगित गरिएको हो । समितिले जानकारी समेत नदिई बैठकमा अनुपस्थित हुनु भएका उद्योग सचिव खतिवडासँग स्पष्टिकरण पनि लिने भएको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले तराईमा रहेका कारण आफू बैंठकमा आउन नसकेको जानकारी समितिलाई दिएपनि सचिव खतिवडाले नदिएकाले उहाँमाथि स्पष्टिकरण सोध्ने निर्णय गरिएको समितिका सचिव डा. रोजनाथ पाण्डेले बताउनु भयो ।
चिनियाँ लगानीमा धादिङको रोराङ गाउँपालिकामा निर्माणाधिन सो कम्पनी विवादमा तानिएपछि गठित समिति अन्तरगतको उपसमितिले तयार परेको प्रतिवेदनमा उठाइएका विषयबारे सचिव खतिवडा र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकारी अधिकारीसँग विस्तृत छलफल गर्ने कार्यसूची तय गरिएको थियो ।




