संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा चल्न नदिने राजपाको अडान | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा चल्न नदिने राजपाको अडान

काठमाडौं, १४ साउन । राष्ट्रिय जनता पार्टी, नेपालले सरकारले सर्लाही घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिएको छ ।

राष्ट्रिय जनता पार्टी, नेपालको मंगलबार काठमाडौंमा बसेको अध्यक्षमण्डलको बैठकले सर्लाहीमा गैर न्यायिक ढंगले प्रहरीको गोलीबाट दुई जना नागरिकको ज्यान गएको घटनाको सत्यतथ्य बाहिर ल्याउन संसदीय समिति गठन गर्नुपर्ने काँग्रेससहितको माग सम्बोधन नगरेसम्म प्रतिनिधिसभा बैठक चल्ने नदिने अडान प्रष्टयाएको हो ।

बैठकले कैलालीको टिकापुर घटनाको सम्बन्धमा छानवीन गर्न गठित गिरिशचन्द्रलाल संयोजकत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न, मिडिया काउन्सिल विधेयक, मानव अधिकार आयोगसम्बन्धि विधेयक फिर्ता लिन पनि सरकारलाई निरन्तर दवाव दिने निर्णय गरेको पनि पार्टीका नेता अनिलकुमार झाले जानकारी दिनु भयो । बैठकले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई राहत दिन सरकार जिम्मेवार नदेखिएको दावी गर्दै आक्रोश पनि व्यक्त गरेको छ ।

बैठकमा समाजवादी पार्टी, नेपालसँगको पार्टी एकताका लागि वार्ता प्रक्रिया अघि बढन नसकेको निष्कर्ष निकाल्दै पार्टीको महाधिवेशनमा केन्द्रित भएर अघि बढने विषयमा पनि नेताहरुबीच छलफल भएको थियो ।

ताजा समाचार