दार्चुलाका जयसिंह धामी वेपत्ता भएको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार : गृहमन्त्री खाँण | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दार्चुलाका जयसिंह धामी वेपत्ता भएको सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न सरकार जस्तोसुकै कदम चाल्न पनि तयार : गृहमन्त्री खाँण

balkrishna khad

काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाँणले महाकाली नदी पार गर्नेक्रममा तुईनबाट दार्चुलाका जयसिंह धामी वेपत्ता भएको घटनाको सत्यतथ्य सार्वजनिक गर्न सरकारले तत्काल छानवीन समिति गठन गरेको बताएको छ । गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा छानवीन समितिले दिएको प्रतिवदेनको आधारमा सरकार जस्तोसुकै कदम चाल्न पनि तयार रहेको बताए ।

मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा उनले भने, “छानवीन समितिले घटनास्थलमै गएर छानवीन गर्नेछ । प्रत्यक्षदर्शीहरुको बयानलाई मूल आधार बनाएर छानवीन गर्नेछ । स्थानीय नागरिकसँग पनि बुझेर छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन ल्याउने छ । र प्रतिवेदनले दिएको निष्कर्षलाई सरकारले दृढताका साथ अघि बढाउनेछ । र जस्तोसुकै कदम चाल्न पनि सरकार तयार हुनेछ ।

सरकारले सो घटना घटेलगत्तै मन्त्रीस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय छानवीन समिति गठन गरेको थियो । गृहमन्त्री खाँणले सो छानवीन समितिले सत्यतथ्यसहितको प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही पनि बोल्न नमिल्ने स्पष्ट पारे । गृहमन्त्री खाँणले सो घटनाका सम्बन्धमा सत्यतथ्य बाहिर ल्याउन सरकारले छानवीन समितिलाई स्थानीय सरकार, प्रदेश सरकार र त्यहाँका जनप्रतिनिधिहरुसँग पनि छलफल गर्न निर्देशन दिएको जानकारी पनि सांसदहरुलाई गराए ।

सो घटनामा भारतीय सीमा सुरक्षा बलको संलग्नता रहेकोबारे प्रमुख प्रतिपक्ष दल एमाले सांसद खगराज अधिकारीले गृहमन्त्री खाँणलाई प्रश्न गरेका थिए । उनले अपराधिक ढंगले धामी नदीमा बपत्ता भएको घटनालाई सरकारले ढाकछाप गर्न खोजेको आरोप लगाउँदै आपत्ति जनाए । एमालेकै अर्का सांसद योगेशकुमार भट्टराईले गृहमन्त्री खाँणले नदीमा वेपत्ता भएका धामीको मृत्यु नै भएको भन्ने ढंगले संसदमा हल्का टिप्पणी गर्नु भएको भन्दै आक्रोश व्यक्त गरे ।

काँग्रेस सांसद गगनकुमार थापाले सो घटनाको सत्यतथ्य बाहिर ल्याउने गरी संसदलाई विश्वास दिलाउन गृहमन्त्री खाँणको ध्यानाकर्षण गराए । उनले घटनामा संलग्न जोकोहीलाई पनि कारवाहीको दायरामा ल्याउन सरकारले हिम्मतका साथ काम गर्नुपर्ने पनि बताए ।

यता, जवाफमा गृहमन्त्री खाँणले छानवीन समितिको प्रतिवेदन नआई सरकारले थप बोल्न नमिल्ने बताए । उनले छानवीन समिति घटनास्थल पुग्ने र त्यसको सत्यतथ्य बाहिर आउने विश्वास समेत व्यक्त गरे । सरकारले सो घटनाको छानवीन गर्न गठित सहसचिव गौतम नेतृत्वको टोलीलाई १० दिनको समय दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);