नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैनः पर्यटनमन्त्री पौडेल | ईमाउण्टेन समाचार

Our Network

भदौ २ २०८३, बुधवार

नेपालको हवाई उद्योगको क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैनः पर्यटनमन्त्री पौडेल

काठमाडौं ।

सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल केही गर्नसक्ने अवस्था नभएको बताउनुभएको छ । सोमवार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षा सम्बन्धि संवाद कार्यक्रममा बोल्दै उहाँले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको स्पष्ट पार्नुभएको हो । मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढने योजना बनाएको पनि बताउनु भयो । हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो ।

उहाँले इयूको आकाशमा उडानमा लगाइएको प्रतिवन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानूनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएको दावी गर्नुभयो ।मन्त्री पौडेलले नेपालको हवाई उद्योगले नै मुलुकमा पर्यटन क्षेत्रको विकास गर्ने लक्ष्यलाई बोकेको पनि स्मरण गराउनु भयो । कार्यक्रममा बोल्दै नेपाल वायुसेवा निगमका निमित्त महाप्रवन्धक जनकराज कालाखेतीले आर्थिक समस्याका कारण नेपालको हवाई उड्डयनको क्षेत्रमा सुरक्षाको प्रश्न समेत उठने गरेको बताउनु भयो । उहाँले निगम आफैले पनि यसको सुरक्षाको अवस्थालाई सुदृढ बनाउनका लागि सरकारसँग पुँजीको लागि निरन्तर माग गर्दै आउनु परेको गुनासो पनि गर्नुभयो ।निमित्त महाप्रबन्धक कालाखेतीले स्रोत साधनको उचित व्यवस्था गरेर अघि बढ्दा मात्रै नेपालको हवाई उडानको सुरक्षा पनि भरपर्दो हुने उल्लेख गर्नुभयो ।

Leave a Reply