काठमाडौं, १२ साउन । पार्टी स्कूल विभागको प्रमुखबारे सहमति नजुटेपछि नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठक आइतबार पनि स्थगित भएको छ ।
पार्टीको दृष्टिकोण र सिद्धान्तबारे तल्लो तहसम्म सैद्धान्तिक प्रशिक्षण तथा स्कूल सञ्चालन गर्ने विभागको प्रमुखमा कसलाई ल्याउने भन्ने बिषयमा नेकपाभित्र विवाद देखिएको हो । उक्त विभागमा पूर्वएमालेबाट ईश्वर पोखरेल र पूर्वमाओवादीबाट नारायणकाजी श्रेष्ठ लगायत ६ जनाको दाबी रहेको जनाइएको छ ।
यसमा शीर्ष नेताहरुबीच सहमती नजुटेपछि बैठक स्थगित भएको हो ।स्कूल विभागको नेतृत्वमा विवाद चुलिँदा गत हप्ता पनि सचिवालय बैठक २ पटक स्थगित भएको थियो । नेकपाले ६ महानगरपालिका सहित पार्टीको ७७ जिल्ला कमिटिहरुमा इन्चार्ज र सहइन्चार्ज भने तोकिसकेको छ । नेकपाका नेताहरुले भने प्रधानमन्त्रीको नियमित स्वास्थ्य चेक जाँचका कारण आइतबारको बैठक स्थगित भएको दाबी गरेका छन् । बैठक सोमवार बस्ने जनाइएको छ । नेकपामा ३३ वटा विभाग रहेका छन् ।