राहत नपाएको बाढीपीडितको गुनासो | ईमाउण्टेन समाचार

Our Network

चैत २७ २०८०, मंगलबार

राहत नपाएको बाढीपीडितको गुनासो

badi padit

काठमाडौं, १२ साउन । बाढीपहिरोका कारण विस्थापित बनेकाहरुले राज्यले आफूहरुलाई बेवास्ता गरेको गुनासो गरेका छन् । अविरल वर्षासँगै आएको बाढीपहिरोबाट घर भत्किएर छिमेकीकोमा आश्रय लिइरहेको हप्तौं बिते पनि अझै राज्यको निकायको उपस्थिति नदेखिएको भन्दै उनीहरुले दुःख व्यक्त गरेका छन् ।

असार २७ गते राति आएको पहिरोका कारण घर भत्किएपछि आफन्तको घरमा बसिरहेका मकवानपुरगढी–१ रानीसेराका सुकुमान थोकरले यत्रो दिन भइसक्दा पनि आफूलाई राज्यले कुनै सहयोग नगरेको भन्दै दुखेसो गरे । उनको तीन जनाको परिवार दुईहप्तादेखि ससुराली घरमा बसिरहेका छन् । शनिबार एक संस्थाले दिने त्रिपाल र चामल लिन गढी–१ कै अन्नपानीमा झरेका सुकमानले घर बगाएको यत्रो दिन भइसक्दा पनि कसैले वास्ता नगरेको गुनासो गरे । काठमाडौं–तराई जोड्ने फाष्ट ट्रयाक निर्माणको क्रममा घरमुनितिर धेरै खनेका कारण आफ्नो घर बगेको उनले सुनाए ।

सुकमानकै छिमेकी मीनबहादुर थोकरको नौ जनाको परिवार पनि दुईहप्तादेखि छिमेकीको घरमा आश्रय लिइरहेका छन् । “असार २७ गते राति घरमुनि पहिरो गएपछि राति नै अन्नपात सारेर छिमेकीको घरमा गएर बस्यौं, अहिले घर भत्किएर बस्न नमिल्ने भएको छ ।

छिमेकीको घरमा खाने बस्ने गरिरहेका छौं,” थोकरले भने, “हामीलाई बास बस्ने व्यवस्था मात्र गरिदिए धेरै राहत हुन्थ्यो, छिमेकीको घरमा कोचिएर कतिदिन बस्ने ?” फास्ट ट्रयाक खन्ने क्रममा घर बगाएपछि बाटो निर्माणको जिम्मा लिएको सेनाले घरको फोटो खिचेर लगेको तर, केही राहत भने नदिएको थोकरले सुनाए ।

गढी–१ लेनडाँडाका चन्द्रबीर लुङ्बाको १५ जनाको परिवार पनि पहिरोले घर भत्किएपछि एक हप्ताअघिदेखि घर नजिकैको गोठमा आश्रय लिइरहेका छन् । “घर भत्किएर धानको भकारी नै पु-यो, अलिअलि मकै झिक्न भ्यायौं, अहिले त्यहि खाएर गोठमा सुत्ने गरेका छौं,” लुङ्बाले भने ।

मकवानपुरगढी गाउँपालिका–१ का करिब ३५ घरधुरी बाढी पहिरोबाट पीडित बनेको वडा नम्बर १ का अध्यक्ष आइतसिं लोले बताए । “धेरैको पहिरोले घर भत्किएर विस्थापित भएका छन्, केहीको घरमा सामान्य क्षति भएको छ । सबैको विवरण संकलन गरी हामीले गाउँपालिकामा पठाएका छौं । अब गाउँपालिकाबाट राहत र क्षतिपूर्ति आउला,” वडाध्यक्ष लोले भने ।

बाढी पहिरोका कारण गत असार २६ गतेयता मकवानपुरका ६ जनाको मृत्यु भइसकेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार जिल्लाका करिब ७० परिवार पहिरोको जोखिममा रहेको भन्दै स्थानान्तरणको तयारी भइरहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);