शालिकराम चालिसे
नुवाकोट, ९ साउन । नुवाकोटको नदी तथा खोलाहरुमा भईरहेको अवैध उत्खनन्ले पर्यावरणमा नकरात्मक असर गर्ने भएपछि त्यसको नियन्यणका लागि पहलहरु सुरु भएका छन् ।
नुवाकोटको सदरमुकाम विदुरमा बसेको जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले जिल्लामा सञ्चालन भएको अवैध वालुवा उत्खनन्लाई रोक्न सबै इमान्दार हुनुपर्ने बताउनु भयो ।
त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा भएको अवैध उत्खननले जिल्लामा रहेका प्रशासन र जनप्रतिनिधिहरु कै बेइज्जत गरेको भएको बताउनु भयो । उहाँले अवैध उत्खनन रोक्ने सवालमा असुरक्षा भएकाहरुलाईु सुरक्षा दिन पनि आफु तयार रहेको बताउनु भयो ।
बैठकमा नुवाकोटका प्रहरी उपरीक्षक कृष्ण पल्लीमगरले अनुगमनमा प्रहरी निस्कँदा पहिल्यै तस्कर कहाँ फोन पुग्ने गरेकोले आफ्नो मातहतका प्रहरीले त्यस्तो काम गरेको भेटिए कारवाही गर्र्ने जानकारी दिनुभयो ।
असारदेखि भदौसम्म हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खनन्का लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) मा यो तीन महिना उत्खनन् नगर्ने शर्त उल्लेख गरेका छन् ।
बर्षायाम शुरु भएसंगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।