नियम मिच्दै नदी दोहन | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

नियम मिच्दै नदी दोहन

nadi

काठमाडौं, ८ साउन । नियमविपरीत नुवाकोटका नदी/खोलाको दोहन भइरहेको छ । नदीजन्य पदार्थ झिक्ने कार्य धमाधम भइरहेका छन् । त्रिशूली, तादी, लिखु, फलाखु, सलाखुलगायतका नदी र खोलामा स्काभेटर लगाएर ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको हो ।

नवीकरण नभएका अवैध क्रसरले नदीजन्य पदार्थ उपकरण लगाएर झिकिरहेको छ । कतिपय स्थानमा दिउँसो मजदुर लगाएर झिक्ने र राति हेभी इक्विमेन्ट प्रयोग गरी सिधै नदीबाट बालुवा निकाल्ने गरेका छन् । जिल्ला अनुगमन तथा समन्वय समितिले मजदुरले बालुवा झिके तापनि झिकेकै स्थानमा गाडी लैजान निषेध गरिएको छ । तर, नदी किनारमै गाडीमा बालुवा लोड भइरहेको समितिले जनायो । समितिका प्रमुख तथा संयोजक सन्तमान तामाङले अवैध कार्य रोक्न बैठक डाकेर अघि बढ्ने बताए ।

‘प्रहरीलाई अनुरोध गर्दा बेवास्ता गर्छन्,’ उनले भने, ‘नदीको दोहन रोक्नेबारे कदम चाल्न बुधबार बैठक डाकेका छौँ ।’ सडकबाट नदेखिने स्थानमा दिउँसै नदीको दोहन भइरहेको र राति प्रहरीको रोहवरमा एक्जाभेटरले बालुवा, गिट्टी झिक्ने गरेको स्थानीयले बताए । नदीबाट बालुवा झिक्ने क्रममा मदिरा खुवाएर खुकुरीसहितका मान्छे राख्ने गरेकोबारे प्रहरीलाई जानकारी दिँदा पनि बेवास्ता भएको स्थानीयको आरोप छ ।

नदीजन्य पदार्थ दोहन रोक्न आफू लागिपरेको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले बताए । उनले भने, ‘राति झिक्छन् भनेको सुन्छु क्यारे । आफू समात्न हिँडेको छु, भेटिँदैन ।’ प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले प्रहरीलाई लिखित निर्देशन दिएर नियमन गर्न भनेको बताए । ‘दोहन कार्य रोक्नुपर्छ । यसमा कुनै कम्प्रोमाइज हुँदैन,’ उनले भने । प्रजिअले भनेको ४/५ दिन बितिसक्दासमेत नदीको दोहन नरोकिएको स्थानीयले बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);