तराईका जिल्लामा बर्षेनी हुने डुबानको कुटनीतिक समाधान खोज्न देउवाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

तराईका जिल्लामा बर्षेनी हुने डुबानको कुटनीतिक समाधान खोज्न देउवाको आग्रह

काठमाडौं, ८ साउन । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले तराईका जिल्लामा बर्षेनी हुने डुबान समस्याको कुटनीतिक समाधान खोज्नु पर्ने बताउनुभएको छ ।  प्रतिनिधिसभाको बुधबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै नेता देउवाले सरकारलाई तराईका जिल्लामा बर्षेनी हुने डुबानको दीर्घकालिन समस्या समाधानका लागि कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको हो ।

उहाँले तटबन्धका कारण बर्षेनी डुबानको समस्या झेल्नुपरेको भन्दै भारत र नेपालले एक आपसमा दोषारोपण गरेर मात्रै समस्या समाधान हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो “भारत सरकारसंग कुरा गर्नुपर्ने बेला भईसकेको छ । भारतले नेपाललाई दोष दिने नेपालले भारतलाई दोष दिने । कति दिन सम्म चल्छ यो ? त्यसकारण कुटनीतिक तहबाट भारत संग कुरा गर्नुपर्ने भएको छ । भारतले डुबान पार्यो भन्छन् त्यहाँ । भारतले नेपालले सिध्यायो भन्छ । त्यसकारले यसमा कुटनीतिक ढंगले कुरा गर्नुपर्छ ।”

कोशी ब्यारेज बन्दै गर्दाको समयमा नेपालको सिमानामा साना-साना चिया पसल गरि बसेकालाई भारतले सुरक्षाको कारण हटाउन खोजेको भन्दै उहाँले सो समस्या समाधानका लागि पनि सरकारलाई आवश्यक कुटनीतिक पहल गर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले बाढी र डुबानमा परी घरवार विहिन भएकालाई उचित वासस्थान र तात्कालिन राहतको व्यवस्था गर्न नसकेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो “टहरा बनाएर बसेका छन् खाद्यान्न छैन । सरकारको पहिलो कर्तव्य जो बाढी, पहिरो र डुबानमा परि घर विहिन भएका छन् उनलाई खाद्यान्न दिने, लत्ता कपडा दिने, पाल दिने, ओत दिने काम केही गरेको छैन । केही रेडक्रसले, केही विदेशी संस्थाहरुले, आई एनजिओहरुले गरेका छन् । तर सरकारबाट कही पनि देखिन मैले । हेलिकोप्टरबाट उद्धार कहाँ हुन्छ ? त्यसकारण सरकार तात्नुपर्ने, लाग्नुपर्ने । कहीँ पनि लागेको छैन ।”

सिरहा, सुनसरी, रौतहट लगायत जिल्लाको अनुगमनका क्रममा आफुले कही पनि सरकारको उपस्थिति नदेखेको भन्दै उहाँले ‘दुख परेको बेला आवश्यक प्रबन्ध मिलाउनुपर्नेमा सरकार नपुगेको’ टिप्पणी गर्नुभयो । उहाँले बाढी र डुबान प्रभावितलाई सरकारले आफ्नो कर्तव्य र दायित्व पुरा गर्न नसकेको दाबी गर्नुभयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);