काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले सरकारले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।
आइतबारबाट राजधानीमा सुरु भएको पार्टीको केन्द्रिय कार्य समिति बैठकमा अध्यक्ष राणाले जनताको भारी मत पाएर बनेको शक्तिशाली सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाउनु भएको हो ।
अध्यक्ष राणाले कुनै पनि उल्लेख्य काम गर्न नसकेको वर्तमान सरकारले भ्रष्टाचार समेत नियन्त्रण गर्न नसकेको दावी गर्दै आक्रोश व्यक्त गर्नु भयो । उहाँले भ्रष्टाचार बिरुद्ध आफनो पार्टीले आन्दोलन गर्ने चेतावनी समेत दिनुभयो ।
बैठकमा पार्टीका अर्का अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनीले पनि जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै सरकारको आलोचना गर्नु भएको थियो । बैठक दुई दिनसम्म चल्नेछ ।




