काठमाडौं, ३ साउन । सांसदहरुले सेवाग्राहीको काममा ढिलाई गर्ने कर्मचारीलाई कार्वाही गर्ने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रवार संसदको राज्य ब्यवस्था समितिको बैठकमा संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको दफावार छलफलमा भाग लिँदै सांसदहरुले यस्तो माग गरेका हुन् । बैठकमा नेकपाका सांसद झपट रावलले समयमा काम नगर्ने कर्मचारीलाई कडा दण्ड सजायको व्यवस्था नगर्ने हो भने सेवाग्राहीहरुले विगतमा भन्दा बढि सास्ती व्यहोर्नुपर्ने अवस्था आउने तर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।
त्यसैगरी बैठकमा प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले सेवाग्राहीको काम समयमा नगरे त्यसको क्षतिपूर्ति सम्बन्धित कर्मचारीबाट असुल गर्ने कानुनी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद कँडेलले कर्मचारीहरुलाई आफ्नो दायित्व पूरा नगरे कार्वाही गर्ने कानुनी व्यवस्था नभएकै कारण मुलुक भ्रष्टाचारको दलदलमा फसेको उल्लेख गर्नुभयो ।