काठमाडौं, ३ साउन । पाकिस्तानका पूर्व प्रधानमन्त्री शाहिद खकान अब्बासी भ्रष्टाचारको आरोपमा पक्राउ परेका छन् ।
जवाफदेहीतासम्बन्धी त्यहाँको निकाय न्याशनल अकाउन्टेबिलिटी ब्युरोले यसअघि प्रमुख विपक्षी दल पीएमएलएनका नेता अब्बासीलाई बयान दिन बोलाएको थियो । उन सरकारमा रहदा उनको सरकारले गरेको एलपीजी ग्यास सम्बन्धी एउटा सम्झौतालाई लिएर अनुसन्धान गरिएको थियो । अघिल्लो महिना पाकिस्तानका पूर्व राष्ट्रपति र पाकिस्तान पिपुल्स पार्टीका नेता आसिफ अली जर्दारीलाई झुट्टा बैंक खाता सम्बन्धी आरोपलाई लिएर गिरफ्तार गरिएको थियो ।
विपक्षीहरूले इमरान खान नेतृत्वको सरकारले भ्रष्टाचारको आरोपलाई देखाएर राजनीतिक प्रतिद्वन्द्वीहरूलाई जेल पठाइरहेको बताउने गरेका छन् । पत्रकार सम्मेलनका लागि जादै गर्दा उनलाई गिरफ्तार गरिएको थियो । शुरूमा गिरफ्तारीको विरोध गरेपनि उनले पछि आफूलाई ब्युरोका अधिकारी समक्ष समर्पण गरेका थिए । कानुनी प्रक्रिया अनुसार शुक्रवार उनलाई अदालतमा पेश गरिनेछ । अब्बासी सन् २०१७ को अगष्टमा पाकिस्तानको प्रधानमन्त्री भएका थिए ।




