हकप्रद सेयरमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८३, मंगलबार

हकप्रद सेयरमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने

dhitopatra

काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्षबाट हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिन सक्ने व्यवस्था गर्ने भएको छ । बोर्डले सोमबार काठमाडौंमा सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा हकप्रद सेयर निष्काशनमा लगानीकर्ताले आफ्नो हकभन्दा बढि आवेदन दिनसक्ने व्यवस्था गर्ने उल्लेख गरिएको हो ।

लगानीकर्ताहरुको हकलाई ध्यानमा राखेर सो प्रावधान राखेर अघि बढ्ने गरी नीति तथा कार्यक्रम सार्वजनिक गरिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिनु भयो । त्यसैगरी बोर्डले गत आर्थिक वर्षबाट सुरु भएको ‘एक नेपालीः एक डिम्याट खाता’ सम्बन्धि नीतिलाई पनि प्रभावकारी बनाउने कार्यक्रम तय गरेको छ ।

बोर्डका अध्यक्ष कार्कीले ५० करोड वा सो भन्दा माथिका र एक अर्व वा सो भन्दा बढिको पूँजीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन सहजीकरण गर्ने योजना पनि अघि सारेको छ ।

बोर्डले समष्टिगत बजार सुधार तथा विकास नीति अन्तरगत धितो पत्रको दोस्रो बजारमा सूचना प्रवाहलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन थप डिस्कोल्जरको व्यवस्था गर्ने पनि जनाएको छ ।

पूँजी बजारको गतिशील विकासमा सहयोग पु-याउने उद्देश्यले स्थापित नागरिक लगानी कोषलगायतका विशेष ऐनद्धारा स्थापित यस्तै प्रकृतिका संस्थाहरुलाई सहायक कम्पनी स्थापना गरी संस्थागत लगानीकर्ताको रुपमा तथा धितोपत्र डिलर कारोबारको सुरुवात गराउन आवश्यक सहजीकरण गर्ने पनि बोर्डको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।