प्राकृतिक विपद्को न्युनिकरणकालागि 'एकिकृत बस्ती' आवश्यक | ईमाउण्टेन समाचार

Our Network

साउन ३१ २०८३, सोमबार

प्राकृतिक विपद्को न्युनिकरणकालागि ‘एकिकृत बस्ती’ आवश्यक

badi

सीता शर्मा

काठमाडौं, ३० असार । हिमाल पहाड र तराई जस्तो विविधतायुक्त भौगोलिक बनावट रहेको नेपालमा जुनसुकै बेला पनि प्राकृतिक विपद्को सम्भावना रहेको छ । पहाडमा जाने पहिरो होस् या तराईमा आउने बाढी यसको मुख्य कारण अव्यवस्थित बस्ती र अबैज्ञानिक भुउपयोग नीति रहेको पाइएको छ ।

जोखिमयुक्त क्षेत्रका बस्तीहरुलाई छनोट गरी एकिकृत बस्ती कार्यक्रमलाई अगाडी नबढाएसम्म यस्ता विपद्का समस्या बढ्दै जाने विज्ञहरुको भनाई छ । खोला तथा नदी किनार नजिक बनाइएका घर र बस्तीका कारण अहिलेको बाढी पहिरोले क्षति बढाएको हो ।

भिरालो ठाउँ, नदी खोलाका नजिक अव्यवस्थित रुपमा बनेका भौतिक संरचना र बस्ती बिस्तार प्राकृतिक विपद्का बेला बढी क्षति हुनुको प्रमुख कारण बनिरहेका छन् । सरकारले एकिकृत बस्ती तथा ग्रामिण बस्ती विकास कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउन नसक्दा यो समस्या बढीरहेको छ ।

नदी छेउछाउका बस्तीलाई सुरक्षित स्थान तथा पूर्व पहाडी जिल्लाका भीरहरुको बस्तीलाई समथर सुरक्षित स्थानमा एकिकृत बस्ती बसाउने योजनालाई कार्यान्वयन नगर्दा समस्या वर्षेनी बढीरहेको छ । अहिले पहाडी क्षेत्रमा २ देखि ३ वटा घरका लागि पनि बाटो लैजानु पर्ने अवस्था आएको छ । जसले पहाडी क्षेत्र पहिरोको उच्च जोखिममा परेको छ ।

पहाडी क्षेत्रमा छरिएर रहेका घरहरुलाई उपयुक्त स्थान खोजी गरी एकिकृत बस्ती बसाल्नु पर्ने अहिलेको आवश्यकता छ । त्यसो त नेपाल सरकारले आफ्नो चांैथो योजनादेखि नै एकिकृत बस्तीको अवधारण ल्याएपनि ति योजनाहरु सफल भएका छैनन् ।

यस भन्दा अघि एकिकृत बस्ती निर्माण गरेपनि आर्थिक तथा जिवीकोपार्जनका क्षेत्र छनोट गर्न नसक्दा सफल हुन नसकेको हो । तर अब पहाडी क्षेत्रका मानिसहरुको जिवनस्तर केहि फेरिएको र बसाईसराई सहज हुन थालेको अहिले अवस्थामा एकिकृत बस्तीलाई सफल बनाउने उपयुक्त वातावरण बनेको राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.जगदीशचन्द्र पोखरेलको भनाई छ ।

२०७२ सालको भुकम्पपछि प्रभावित क्षेत्रमा एकिकृत र नमुना बस्तीको कामलाई केहि तिव्र रुपमा अगाडी बढाएपनि अन्य क्षेत्रमा भने चाँसो दिएको पाइँदैन । त्यस्तै पछिल्लो समय अव्यवस्थीत रुपमा बनेका भौतिक संरचना तराईमा बाढीबाट हुने जोखिमको प्रमुख कारण बनेको छ।

प्राकृतिक रुपमा बग्ने खोला नालालाई मिचेर बनाइएका भौतिक संरचनाका साथै अवैज्ञानिक शहर तराईमा बाढीबाट हुने क्षतिको कारण बनेका छन् । त्यसैले विपद्का बेलामा मात्र ध्यान दिने तर अन्य समयमा विपद् आउन सक्ने गतिविधीलाई रोक्न नसक्दा नेपालमा वर्षेनी प्राकृतिक विपद्को बढेको विज्ञहरु बताउँछन् ।

यस वर्षको बाढी र पहिरोमा परी ६५ भन्दा बढीको ज्यान गइसकेको छ भने यो संख्या बढ्ने क्रममा रहेको देखिन्छ । अव्यवस्थीत बस्तीका कारण प्राकृतिक प्रकोपको जोखिम मात्र होइन विकासको लगानी पनि खर्चिलो बन्दै खेर गइरहेको छ । त्यसैले प्राकृतिक प्रकोपबाट बच्नका लागी नेपालमा एकिकृत साथै वैज्ञानीक बस्ती व्यवस्थापनको अवधारणालाई कार्यान्वयनमा ल्याउन आवश्यक छ ।

ताजा समाचार