त्रासमा टापुका अढाई सय परिवार | ईमाउण्टेन समाचार

Our Network

चैत २२ २०८२, सोमबार

त्रासमा टापुका अढाई सय परिवार

tapu

काठमाडौं, ३० असार । झापाको भद्रपुर–३ मा पर्ने भाङबारीलाई मेचीपारिको गाउँ भनेर चिनिन्छ । यो गाउँ बर्खामा टापुमा परिणत हुन्छ। नदी र जंगे पिलरले बाटो फेर्दा स्थानीय त्रसित हुन्छन्। अढाई सय घरपरिवार यसपटक त्रासमा छन्। मेची नदी उर्लिएपछि नेपालतिर सम्पर्क टुटेको छ।

चार दिनदेखि अविरल वर्षा भइरहेको छ। आउजाउ गर्न डुंगा चल्न सकेको छैन। पाँच वर्षअघि बनाउन थालेको झोलुंगे पुल अलपत्र छ। नदीमा पानीको बहाव बढेसँगै स्थानीयवासी त्रसित बनेका छन्। भारतले आफ्नो क्षेत्रतिर यही वर्ष पक्की तटबन्ध बनाएको छ। उतापट्टि बग्ने मेची नदीले पनि नेपालतिरै हान्न थालेको छ। त्यसले टापुलाई कटान गर्न थालेको छ ।

नदी किनारमा गएर नेपालतिर फर्किएर हेर्नुबाहेक अरू विकल्प नभएको स्थानीय डिगेन गणेशले बताए। उनी आफन्त भेट्न वारि आएका थिए। तर, नदी उर्लिएपछि डुंगा नचलेकाले फर्किन सकेका छैनन्। ‘कुन दिन हाम्रा बाबुबाजे यो टापुमा आएर बसे ? ’, उनले भने, ‘त्यसको सजाय हामीले भोगिरहेका छौं। तीन दिन भयो डुंगा पनि चलेको छैन।’ बिरामी भए उपचार नपाउने अवस्था रहेको उनले सुनाए।

स्थानीयका अनुसार आधा गाउँमा नदी पसेको छ। घर छाड्नुपर्ने अवस्था नभए पनि नदी पस्यो भने उद्धार कठिन छ। यो गाउँमा भद्रपुर नगरपालिकाले दिएको एउटा डुंगा छ। नदीको बहाव कम भएका बेला स्थानीय त्यही चढेर आवतजावत गर्छन्।

ठेकेदारले पाँच वर्षमा पनि झोलुंगे पुल निर्माण सम्पन्न गरेको छैन। वर्षमा २–४ दिन आएर २–३ जनाले काम गरेजस्तो गर्छन्। ‘मेची उर्लिएका बेला आएर फेरि काम गर्दै छ’, मेचीपारिकै स्थानीय जनप्रतिनिधि अरुण राजवंशीले टेलिफोनमा भने, ‘जब मध्य बर्खा सुरु भयो तब पुलको पोल ठड्याएको छ। हिउँदभर बेवास्ता ग¥यो।’ यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लेखेको छ ।