स्वर्गद्वारी दर्शन गर्ने तिर्थालुको संख्या बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

हरि भण्डारी, प्युठान, २२ भदौ । ऐतिहासिक एवं धार्मिक विरासत बोकेको सात धाममध्येको एक हो– स्वर्गद्वारी । प्युठानमा जिल्लामा पर्ने स्वर्गद्वारी नेपाल तथा भारतीयहरुका लागि आकर्षक धार्मिक गन्तव्य बन्ने गरेको छ । यो वर्षमात्रै ७५ हजारभन्दा बढी नेपाली र भारतीय तीर्थयात्री स्वर्गद्वारी पुगिसकेका छन् ।

 

मुख्यगरी, साउन लागेपछि दसैंसम्म उल्लेख्य संख्यामा भक्तजनहरु प्युठानको स्वर्गद्वारी पुग्ने गर्छन् । स्वगद्वारी आश्रम व्यवस्थापनका अनुसार जारी सिजनमा ७५ हजार ६ सय १६ भक्तजनले मन्दिर दर्शन गरिसकेका छन् । स्वर्गद्वारी दर्शनका लागि बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही, नवलपरासीलगायत जिल्लाका साथै भारतको बलरामपुर, गोरखपुर, सिद्धार्थनगर लगायतका स्थानबाट भक्तजन बढी आउने गर्छन् ।

 

स्वर्गद्वारी आश्रम व्यवस्थापनका अनुसार यो वर्ष एकै दिनमा नौ हजार जनाले मन्दिर दर्शन गरेका छन् । साउनयतामात्रै साढे ३२ हजार भक्तजनले मन्दिर दर्शन गरिसकेका छन् । पर्यटक आगमन बढ्दै जाँदा स्वर्गद्वारीको आधारशिविर भिंगृ क्षेत्रको विकासमा समेत सकारात्मक प्रभाव परेको छ । भिंगृमा व्यापार–व्यवसाय र होटलहरुमा लगानी बढेको छ । सिजनमा भिंगृ बजारदेखि स्वर्गद्वारीसम्म भक्तजनको लाम लाग्ने गर्छ ।

 

स्वर्गद्वारी आश्रमको दाङमा डेढ सय बिघा खेतीयोग्य जमिन छ भने आश्रमको गौशालामा साढे तीन सय गाई छन् । स्वर्गद्वारी पुग्ने भक्तजनका लागि आश्रमकै धर्मशालामा खानेबस्ने सुविधा मिलाइएको छ । स्वर्गद्वारीसम्म मोटरबाटो पुगे पनि वर्षायाममा बाटो अवरुद्ध हुँदा तीर्थयात्रीहरु हिँडेरै आश्रमस्थल पुग्ने गर्छन् ।

 

विभिन्न देवताको मन्दिर, गौशाला, हवनकुण्ड आश्रम र मनोरम वातावरणका कारण पनि स्वर्गद्वारी तीर्थयात्रीको आकर्षणमा परेको हो । विकासका पूर्वाधारका साथै अन्य पर्यटकीय सुविधा विस्तार हुने हो भने स्वर्गद्वारी क्षेत्र समग्र जिल्लाकै विकासका लागि कोसेढुंगा सावित हुने देखिन्छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);