काठमाडौं, २४ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सांसद बडुले सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापना गर्नुपर्नेमा जोड दिनुभयो ।
मंगलबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उहाँले कर्मचारीहरुलाई ट्रेड युनियनको अधिकारबाट बन्चित गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।
बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले कर्मचारीहरुको सेवा र सुविधा उपलब्ध गराउने समितिमा कर्मचारी संगठनहरुलाई नेतृत्व दिने व्यवस्था नगर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।
विधेयकमा कर्मचारीहरुको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न एक समिति गठन गर्ने प्रस्ताव गरिएको छ । तर त्यसको नेतृत्व कर्मचारी संगठनहरुलाई दिनु न्यायका दृष्टिले पनि उपयुक्त नहुने सांसद रावलको तर्क छ ।




