फोहोरजति खोलामा : स्थानीय तहमा छैनन् व्यवस्थित डम्पिङ साइट | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

फोहोरजति खोलामा : स्थानीय तहमा छैनन् व्यवस्थित डम्पिङ साइट

fohor

अछाम, २४ असार । फोहोर फाल्ने व्यवस्थित ठाउँ नहुँदा साँफेबगरका खोला नदी दूषित बन्दै गएका छन्। जिल्लाको मुख्य व्यापारिक केन्द्र साँफेबगर भएर बग्ने प्रभाली, छिपेखोला र बुढी गंगा नदी फोहोर फाल्ने ठाउँ बनेका छन्।

साँफेबगर नगरपालिका ३ का रुपबहादुर कुँवर कुनै बेला माछा मार्ने र नुहाउनेहरूको भिड हुने खोलामा विभिन्न पेयपदार्थका बोतल र प्लास्टिकमात्र देखिन थालेको बताउँछन्। ‘खुला दिसापिसाब मुक्त जिल्ला भइसकेपछि खोलामा दिसापिसाब देखिन छोड्यो तर बजारबाट निस्किएको फोहर र मदिराका बोतलको थुप्रो मात्र देखिन्छ’, उनले भने, ‘बजारबाट निस्किएको फोहर फाल्ने ठाउँ छैन, बजारको बीचमै थुपारेको पनि देखिन्छ।’

साँफेबगर नगरपालिकाले एकीकृत फोहर ब्यवस्थापन केन्द्र (डम्पिङ साइट) निर्माणका लागि उचित ठाउँ नपाउँदा नगर भित्रको फोहर व्यवस्थापनमा चुनौती देखिएको हो। गाईबस्तुलाई पानी खुवाउन खोला नदीमै लाने किसान पनि नदीहरू प्रदूषित बन्न थालेपछि चिन्तित छन्। मिना विकले भनिन् ‘बजार क्षेत्रको फोहर, सिसा, प्लास्टिक धेरै भयो। सबै मिलेर सफा गर्न सके गाई, भैँसीले पनि सफा ठाउँमा चर्न पाउँथे।’

साँफेबगर नगरपालिका ४ कि अप्सरा कुँवर सबैले पवित्र मान्ने, शव जलाउने, पूजा गर्ने नदी सरसफाइमा कसैले पनि चासो नदिँदा अचम्मित छन्। ‘सबैले फोहर यहीँ फाल्छन्’, खोलातिर देखाउँदै उनी भन्छिन्, ‘कसैले सफा गर्दैन। सबैले फोहोर मात्र गर्न हो।’

साँफेबगर नगरपालिका प्रवक्ता बालगीरी कुँवर आवश्यक जग्गा नहुँदा डम्पिङ साइटको काम अगाडि बढ्न नसकेको बताउँछन्। नगरपालिकाको वडा नम्बर १ वैद्यनाथ र ६ भागेश्वरमा डम्पिङ साइट बनाउने निर्णय भए पनि विवादका कारण काम अगाडि बढ्न नसकेको उनले बताए। ‘भागेश्वरमा स्थायी रुपमा बनाउने भनेको ठाउँमा वन क्षेत्र परेकाले वन विभागले बनाउन दिएन, बैद्यनाथमा स्थानीयले’, उनी भन्छन्, ‘अस्थायी रुपमा खोलाको छेउमा दुई वटा खाल्डा बनाएका छौँ।’ यो समाचार आजको अन्नपुर्ण पोस्ट् दैनिकमा लेखेको छ ।

अघिल्लो समाचार