काठमाडौं, २४ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले तत्काल तल्लो तहको अधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन् । उक्त पार्टीको केन्द्रीय समितिको बैठक चल्दैगर्दा उनीहरूले थोरै अवधि बाँकी रहे पनि १४ औं महाधिवेशनको जनादेशका लागि तल्लो तहको अधिवेशन गर्नुपर्ने तर्क अघि सारेका हुन् ।
छिटोभन्दा छिटो अधिवेशन गरेर विधानअनुसारका सबै संरचना गठन गर्नुपर्नेमा सबैजसो जिल्ला सभापतिहरूको समान धारणा रहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिनुभयो ।
यद्यपि आफूलाई १३औं महाधिवेशनको बाँकी कार्यकालसम्मका लागि अधिवेशन गर्ने कि १४ औं महाधिवेशनसम्मका लागि संरचना बनाउने भन्ने दुइटै निर्णय मान्य हुने उहाँको भनाइ छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।