काठमाडौं, २३ असार । सरकारले उत्पादनमूलक क्षेत्रमा बैंकको लगानी बढाउने नीति लिइरहँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह भने घर, गाडी र उपभोगमै बढी भइरहेको देखिएको छ । बैंकहरूको कुल कर्जाको आधाभन्दा बढी हिस्सा घर र गाडी किन्न तथा उपभोग गर्न नै प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको तेस्रो त्रैमाससम्ममा बैंक तथा वित्तीय संस्थाले कुल २८ खर्ब ५० अर्ब ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये १६ खर्ब ६८ अर्ब रुपैयाँ चार क्षेत्रमा मात्रै प्रवाह भएको देखिन्छ । यस अवधिमा ओभर ड्राफ्टमा १० खर्ब ६४ अर्ब, घरजग्गामा ३ खर्ब ७७ अर्ब, सेयर धितोमा ४३ अर्ब र हायर पर्चेज अटोमोबाइलमा १ खर्ब ८३ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
उल्लिखित चार क्षेत्रलाई राष्ट्र बैंकले अनुत्पादक नभने पनि उत्पादक मानेको छैन । त्यसैले यी क्षेत्रको कर्जा प्रवाहलाई निरुत्साहित गराउन विभिन्न मौद्रिक उपकरणहरू ल्याउने गरेको छ । त्यस्तै, उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन बाध्यकारी तथा प्रोत्साहनरूपी नीति लिँदै आएको छ । तर, बैंक तथा वित्तीय संस्थाले छिटो नाफा आउने भएकाले यिनै चार क्षेत्रमा कर्जा प्रवाहमा जोड दिएका छन् । यसरी उत्पादनमूलक क्षेत्रमा तुलनात्मक रूपमा कम कर्जा प्रवाह हुँदा पुँजी सिर्जना नभएर वित्तीय प्रणालीमा लगानीयोग्य तरलता अभाव लम्बिरहेको सरोकारवालाहरू बताउँछन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ ।