काठमाडौं, २२ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशनमा लैजाने सहमति भएको छ ।
प्रधानमन्त्री समेत रहनु भएका ओलीसँग आईतबार बिहान एक वर्ष अघि नै पार्टीका शिर्ष नेताबीचको सर्वसम्मतिमा तयार पारिएको राजनीतिक प्रतिवेदन सोमबारनै प्रकाशनमा लैजाने गरी सहमति गरिएको अर्का अध्यक्ष दाहालले जानकारी दिनु भएको हो । उहाँले सो प्रतिवेदन प्रकाशनमा लैजानेसहमति पार्टी एकीकरणको सबैभन्दा ठूलो काम भएको उल्लेख गर्दै खुसी पनि व्यक्त गर्नु भयो ।
अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रकाशन भएर आएपछि त्यसले पार्टीको आधिकारिक धारणा सम्बन्धि अन्यौल अन्त्य हुने बताउनु भयो । उहाँले राजनीतिक प्रतिवेदनमा पार्टीको आगामी अधिवेशन एकताको महाधिवेशन हुने र सो महाधिवेशनमा विचार, राजनीति र नेतृत्वको विषय सहमति र समझदारीमै टुंगो लगाउने उल्लेख गरिएको दावी पनि गर्नु भयो ।
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकता संक्रमणकालमै रहेकाले नीति निर्माण र नेतृत्व चयनमा गम्भिर भएर अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो ।