काठमाडौं, १९ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको दोस्रो खेल नेपालले शुक्रवार सिंगापुरसँग खेल्ने भएको छ । क्वालालम्पुरमा शुक्रबार हुने उक्त खेल नेपाली समय अनुसार बिहान ७:४५ बजे प्रारम्भ हुनेछ ।
नेपाल सिंगापुर विरुद्वको खेलमा विजयी हासिल गरी समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्ने तयारीमा छ । पराजित भए समूहको उपविजेताका रुपमा सेमिफाइनमा रहनेछ ।
दुवै टोली सेमिफाइनलमा पुगेकाले यस खेलले सो समूहको विजेता र उपविजेताको टुंगो लगाउनेछ । विभिन्न ७ राष्ट्र सहभागी उक्त प्रतियोगिताको समूह ‘ए’मा नेपालसहित सिंगापुर र चीन छन् ।
प्रतियोगितामा दुई खेल खेलेको चीन दुवै खेलमा हार बेहोर्दै प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेको छ । नवप्रवेशी टोली चीन नेपाल र सिंगापुरसँग पराजित भएको थियो । त्यसैगरी समूह ‘बी’ मा भने ४ राष्ट्रहरु आयोजक मलेसियासँगै, भूटान, हङकङ र थाइल्याण्ड छन् ।
समूहको शीर्ष दुई टोलीले सेमिफाइनलका लागि स्थान बनाउनेछन् । यस प्रतियोगिताको विजेता टोली श्रीलंकामा आयोजना हुने यू– १९ एशिया कपमा छनोट हुनेछ ।