कांग्रेसले ल्यायो नियमावली | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

कांग्रेसले ल्यायो नियमावली

nepali congress

काठमाडौं, १८ असार । नेपाली कांग्रेसको संशोधित नियमावली मस्यौदा तयार भएको छ । असार २२ गते बस्ने केन्द्रीय समितिको प्रमुख एजेन्डा पनि यही नियमावलीमाथि छलफल गर्ने रहेको छ । केन्द्रीय समितिमा नियमावलीमाथि विवाद नहोस् भनेर नियमावली मस्यौदा समितिले केन्द्रीय पदाधिकारीहरुसँग छलफल गरी मस्यौदालाई पूर्णता दिएको छ ।

संशोधित नियमावलीअनुसार कांग्रेसका प्रत्येक सदस्यले दिनको एक रुपियाँको दरले वार्षिक ३ सय ६५ रुपियाँ पार्टीलाई वुझाउनुपर्ने छ । नियमावली मस्यौदा समितिका सदस्य ईश्वरी न्यौपानेले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार मेरो पार्टी मै बनाउँछु भन्ने उद्देश्यका साथ नियमावली तयार गरिएको छ । धेरै नेताले विधानविपरीत नियमावली आउने चिन्ता गरिरहेका बेला सदस्य न्यौपाने भन्नुहुन्छ– ‘नियमावली विधानविपरीत बनाउनै मिल्दैन, यो सबै आशंका कुरा मात्र हो ।’

मस्यौदा समितिले केन्द्रीय समितिमा वादविवाद नहोस् भनेर संशोधित विधान मस्यौदाबारे सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा. शशांक कोइराला, पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायत पदाधिकारीहरुसँग छलफल गरेर पूर्णरुप दिएको सदस्य न्यौपानेले बताउनुभएको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा लेखेको छ ।