प्रधानमन्त्रीको फरक सोफा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

प्रधानमन्त्रीको फरक सोफा

pm sofa

काठमाडौं, १७ असार । सादगीपूर्ण जीवनका कारण सम्मानित पूर्वभारतीय प्रधानमन्त्री लालबहादुर शास्त्री भन्थे रे, ‘सिट् लाइट्, नट् टाइट् ।’ अर्थ पक्कै यही हो, कुर्सीमा आसक्ति नदेखाऊ । तर, ‘टाइट्’ क्रान्तिबाट आएका हाम्रा ‘टाइट्’ नेतालाई ‘लाइट्’ हुन कसरी मान्य हुन्छ ? ठूलो सोफामा अघिल्लो पंक्तिमा एक्लै बसेका हाम्रा प्रधानमन्त्री र अलि परै दोस्रो लहरका कुर्सीमा बसेका अरू नेताको एउटा तस्बिर अहिले चर्चामा छ । हाम्रा प्रधानमन्त्री, हाम्रो राजनीति, हाम्रो नेतागिरी, हाम्रो गणतन्त्र, हाम्रो वामपन्थ र नेताहरूका भक्तहरूको स्तरको त्यो सबैभन्दा प्रामाणिक तस्बिर हो ।

प्रधानमन्त्री मात्र होइन, यो देशको कुनै पनि नेता जनतासँग डराउँदैन । कसैलाई पनि छविको चिन्ता छैन । दूरगामी महत्वका गोप्य भेटघाट माफियाहरूका मध्यस्थतामा तिनैका दरबारमा हुन्छन्, तर स्वाभिमान मरेको कार्यकर्ता–पंक्ति ऐयासम्म गर्दैन । राजदूत र संवैधानिक निकायका पदाधिकारीको खुला किनबेच अब सामान्य भएको छ । दशकौँ लामो संघर्षमा साथ दिएको एउटा इमानदार कार्यकर्तालाई रुवाएर उदीयमान ठेकेदारलाई टिकट बेच्दा कुनै नेतालाई ग्लानि हुँदैन । कार्यकर्ताको आत्मा मर्दै जाँदा नेताहरू हामीले जे गरे पनि हुन्छ भन्ने निष्कर्षमा पुगिसकेका छन् । त्यसैले प्रधानमन्त्रीको अलग सोफा यो देशका ठूला राजनीतिज्ञको ठूलो ऐना हो र पिर्के सलामीहरू त्यसैका सह–उत्पादन ।

त्यसै पनि हाम्रो गणतन्त्रमा गाँडैगाँड पलाएका छन् । हिजो साम्यवादका लागि कालकोठरीमा नेल व्यहोरेका प्रधानमन्त्रीलाई अब मञ्चमा एक्लो सोफा चाहिन्छ । हिजो जनताको भकारो सोहोरेर सेल्टर बसेकी राष्ट्रपतिलाई सडक मात्र होइन, आकाश पनि खाली चाहिन्छ । लामो समय परदेशमा चौकिदारी गरेर जीवन र क्रान्ति धानेका मुख्यमन्त्रीलाई अब पाइलो सार्नुअघि जताततै रातो कार्पेट चाहिन्छ । र, एक वर्षअघि मात्र भेटेजतिलाई जम्लाहात गरेर पालिकामा पुगेका मेयरसाबहरूलाई अब आफ्नै बाबुआमासँग पिर्के सलामी चाहिन्छ । यो समाचार नयाँ पत्रिका दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);