गुन्डागर्दीको शैलीमा पटके कर असुली गरिएको स्थानीयको गुनासाे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

गुन्डागर्दीको शैलीमा पटके कर असुली गरिएको स्थानीयको गुनासाे

विवेक विश्वकर्मा
भैरहवा, १६ असार । सिद्धार्थनगर नगरपालिकाले लगाएको पटके करको कारण भैरहवा नगरवासी मात्र नभई छिमेकी मुलुक भारतका बासिन्द समेत आजित भएका छन् । नगर क्षेत्रमा गुड्ने नेपाली र भारतीय नम्बर प्लेटको गाडीबाट गुण्डागर्दी शैलीमा कर उठाउँदै आएको स्थानीयहरुको गुनासो छ ।

भैरहवाको सिद्धार्थनगर नगरपालिकामा नगरपालिकाले कर उठाउन लगाएका युवाहरुको व्यवहारबाट स्थानीय आजित भएका छन् । आर्थिक बर्ष २०७५/०७६को भौतिक पूर्वाधार उपयोग शुल्क (पटके सवारी शुल्क) बाटोमा गुन्डागर्दीको शैलीमा असुली गरिरहेको स्थानीयको गुनासो छ ।

नगरपालिकाले कर उठाउनका लागि स्थनीयलाई सूचित गर्ने, जानकारीका बोर्ड लगाउने विधिवत तरिकाले नभई लाठीका भरमा कर उठाउँदै आईरहेकाले आफुहरु त्रासमा बाँच्नु परेको स्थानीयको भनाई छ ।

नगरपालिकाको संरक्षकत्वमा पालिएका कर उठाउने युवाहरु कसैलाई पनि हात हाल्न नहच्किेने स्थानीयको गुनासो छ । सामान्यतः कर असुली गर्न करको दररेट सहित सबैले देख्ने गरी जानकारी टाँस गर्नु पर्छ, कर उठाउनेको बोर्ड हुन्छ, सके बाटो छेकिने केही साधन हुन्छ तर नगरमा कर उठाउनेहरुले केही राखेको देखिँदैन ।

बोर्ड नराखिएकाले जानकार नभएर नरोक्ने सवारी चालकहरुलाई लखेटेर कुट्ने गरेको सिद्धार्थ नगरपालिका–४ का वडा अध्यक्ष, मुक्तिनाथ यादवले बताउनु भयो । प्रदेश–५ का प्रदेश सभा सदस्य फौजिया नसिम सवार भारतीय गाडीलाई पनि कर उठाउनका लागि रोकेर चालकलाई कुटपिट गरिएपछि यो विषय झन् विवादमा परेको छ ।

भनेको ठाँउमा रोकेन भनेर आफ्नो चालकलाई गाली गलौज तथा कुटपिट गरेको प्रदेश सभा सदस्य फौजिया नसिमले बताउनु भयो । भैरहवाको गल्लामण्डी, निर्वाण होटल अगाडी लगायत भैरहवा प्रवेश गर्ने बिन्दुहरुमा नगरपालिकाले ठेक्का मार्फत स्टार सर्विसेजका कर्मचारीहरुले कर असुली केन्द्र राखेका छन् ।

वडा अध्यक्ष मुक्तिनाथ यादवले आफुले पटकपटक यो बिषयमा आवाज उठाए पनि अल्पमतमा परेको कारण नगरपालिकाले मनोमानी रुपमा कर उठाई रहेको गुनासो गर्नुभयो । तर स्टार सर्विसेजका सञ्चालक विपिन भण्डारी भने नियमानुसार नै कर असुली गरेको दावी गर्छन ।

भारतीय गाडीहरुले भैरहवा भन्सार हुँदै नेपाल प्रवेश गर्दा नै प्रवेश शुल्क बापत दैनिक पाँच सय रुपैयाँ तिरेका हुन्छन् । त्यस बाहेक भन्सारबाट नेपाल पसेर फेरी नगरपालिकालाई एक सय १३ रुपैयाँ कर बुझाउने गरेका छन् । भारतीय चालकहरु कर बुझाउन तयार रहेको तर कर असुली केन्द्रबारे कुनै सूचना नहुँदा झुक्किएर केही अगाडी पुगेकै भरमा कुटिनु परेको गुनासो गर्छन ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);