धार्मिक पर्यटनले बढायो आम्दानी | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौँ,  असार १६ गते । मानसरोवर कैलाशको प्रवेश द्वारका रूपमा परिचित हुम्लामा रोजगारी र आय आर्जनका लागि धार्मिक पर्यटन गतिलो स्रोत बनेको छ ।

केही वर्षयता हवाईजहाजबाट हुम्ला हुँदै भारतीय पर्यटक मानसरोवर जान थालेकाले यहाँ पर्यटकीय चहलपहल बढेको छ । केही वर्ष अघिसम्म बारीमा उत्पादन भएको तरकारी पनि बिक्री गर्न यहाँ कठिन थियो । किसान दन्त रावत पर्यटकका कारण तरकारीले भाउ पाएकोमा दङ्ग हुनुहुन्छ । एक सिजनमा तीन लाख रुपियाँसम्म तरकारीबाटै आम्दानी हुने उहाँको भनाइ छ । उत्पादित तरकारी होटेलहरूमा खपत हुने गरेको छ ।

तरकारीमात्र नभई होटेलहरूमा दाउराको खरिदबिक्री पनि ह्वात्तै बढेको छ । विशेष गरेर सिमकोट गाउँपालिका–७ र खार्पुनाथ–४ बाट दाउरा धेरै आउने गरेको छ । त्यसले झन्डै ७० जनाको रोजगारी सिर्जना भएकोे सिमकोट–७ डाँडाफयाका जयबहादुर शाही बताउनुहुन्छ ।

कतिपयले आफैँ बोकेर ल्याउने गरेका छन् भने कतिले गधा र खच्चडमा बोकाएर पनि दाउरा बिक्री गरेर आफ्नो जीवन चलाइरहेका छन् । एक सिजनमा मात्र झन्डै २० लाख रुपियाँको दाउरा बिक्री हुने शाहीको अनुमान छ ।

एक दसकयता सघन रूपमा मानसरोवर कैलाशको यात्रा सुरु भएपछि अर्को प्रत्यक्ष आम्दानीको स्रोत भरिया पेसा भएको छ । सिजन सुरु हुँदा बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म काममा व्यस्त हुनुपरेको भरिया हंशे कामीले बताउनुभयो ।

विमानस्थलबाट होटेल, होटेलबाट विमानस्थल भारी बोकेरमात्र दैनिक तीन हजार रुपियाँसम्म आम्दानी हुने गरेको उहाँले सुनाउनुभयो । आफूले मात्र नभई श्रीमतीले पनि यही पेसा अँगाल्दै आएको उहाँले बताउनुभयो ।

हाल सिमकोटमा असीभन्दा बढी भरियाले काम पाइरहेका छन् । निजी क्षेत्रका एयरलाइन्स र हेलिकोप्टर, इन्धन कम्पनी सिमकोटका होटेल व्यवसाय सबै धार्मिक पर्यटनले फस्टाएको छ । हाल सिमकोटमा पर्यटकीय होटेल २० वटा छन् । ती होटेलमा कम्तीमा एक सय व्यक्तिले प्रत्यक्ष रोजगारी पाएको अवस्था छ भने अप्रत्यक्ष रूपमा त्योभन्दा बढी रहेको होटेल व्यवसायी सङ्घका अध्यक्ष मीम तामाङले बताउनुभयो ।

यो सिजनमा सात सय भारतीय धार्मिक यात्रीलाई सेवा दिइसकेको उहाँले जानकारी दिनुभयो । सिमकोटका पर्यटकीय होटेलले एक रात पर्यटक बसाउँदा दुई हजार चार सय रुपियाँ लिँदै आएका छन् ।याे समाचार गाेरखापत्र दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);