विवादित जग्गामा नक्साबिनै भवन | ईमाउण्टेन समाचार

Our Network

भदौ २२ २०८३, मंगलबार

विवादित जग्गामा नक्साबिनै भवन

bhawan

काठमाडौं, १५ असार । त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू)को भवन बनाउन थालिएको छ । विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको हो ।

त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते शिलान्यास गरेका थिए ।

शिलान्यासपछि पनि त्रिविअन्तर्गत वनविज्ञान अध्ययन संस्थान हेटौंडाका शिक्षक तथा कर्मचारीले अवरोध गरेकाले काम अगाडि बढ्न सकेको थिएन । शनिबार बिहान त्रिविका प्राध्यापक कर्मचारीले अवरोध गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्रिवितर्फका क्याम्पस प्रमुख विजयकुमार यादवको नेतृत्वमा करिब २२ जनाको टोली निर्माणस्थल पुगेको थियो । प्रहरीले क्याम्पस प्रमुख यादवलाई करिब ५ घण्टा नियन्त्रणमा लिएर पुनः अवरोध नगर्ने सर्तमा छाडेको छ ।

‘हामीले जग्गा विवाद नसुल्झिँदासम्म कुनै पनि भौतिक संरचना नबनाउन आग्रह गरेका हौं । अवरोध गरेका थिएनौं । प्रहरीले हामीलाई नियन्त्रणमा लिएर काम अगाडि बढाएको छ,’ यादवले भने, ‘हेटौंडा–१० स्थित क्याम्पस परिसरमा भवन निर्माण गर्न करिब २ सय रूख काटिएको छ । त्यसको पनि कुनै लेखाजोखा छैन । हामीले यस विषयमा डिभिजन वन कार्यालय हेटौंडा र जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई जानकारी गराउँदासमेत बेवास्ता गरिएको छ ।’  यो समाचार आजको कान्तिपुर दैनिकमा लेखेको छ ।

ताजा समाचार