बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको ८५ प्रतिशत काम सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बुटवल-लुम्बिनी १३२ केभी प्रसारण लाइनको ८५ प्रतिशत काम सम्पन्न

बुटवल । बुटवल–लुम्बिनी १३२ केभी प्रसारण लाइन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भैरहवा-लुम्बिनी क्षेत्रमा विद्युत्‌काे अभाव हटाउन छ वर्षअघि सुरु गरिएको आयोजनाको निर्माण करिब अन्तिम चरणमा पुगेको हो ।

आयोजनाका अनुसार अहिलेसम्म करिब ८५ प्रतिशत काम पूरा भएको छ । अहिले मैनहिया सबस्टेशनमा ३० वटा टावर ठड्याइएको छ । टावर आएसँगै केही महिनादेखि रोकिएको काम सुरु भइसकेकाे छ । अब भारतबाट ३३ केभीएका दुईवटा ट्रान्सफर्मर आउन बाँकी छ । आगामी डिसेम्बरसम्म ट्रान्सफर्मर आइसक्ने आयोजना प्रमुख हरिप्रसाद पाण्डेले जानकारी दिए ।

‘अब ट्रान्सफर्मर जडान गरिसकेपछि विद्युतीय तार बिछ्याउनका लागि अन्डरग्राउन्डको काम सुरु हुन्छ, मंसिरमा अन्डरग्राउन्डको काम सुरु गर्नेगरी तयारी गरिरहेका छौं’, उनले भने । अन्डरग्राउन्डको काम सुरु भएको तीन महिनापछि आयोजना निर्माण पूरा हुने पाण्डेले बताए ।

भैरहवामा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, बुद्ध जन्मस्थल लुम्बिनी, भैरहवा-लुम्बिनी औद्योगिक करिडोरलगायतमा विद्युत् विस्तार र स्तरोन्नतिका लागि प्रसारण लाइन विस्तार थालिएको थियो । प्रसारण लाइन बनेपछि ती क्षेत्रहरुमा प्रयाप्त विद्युत पुग्नेछ ।  योगीकुटीबाट सवस्टेशन रहेको मैनहियासम्म विद्युत् पुर्‍याउन ५६ वटा विद्युत् पोल गाड्नुपर्नेमा ५५ वटा पोलका लागि फाउन्डेशन बनिसकेको छ । अब एउटा पोलको मात्र फाउन्डेशन निर्माण गर्न बाँकी छ ।

फाउन्डेशन सकिएलगत्तै पोल गाडिनेछ । आयोजना सुरु भएलगत्तै चार वर्ष जग्गाधनीको अवरोध र बाँकी दुई वर्ष कोरोना महामारीका कारण आयोजना लम्बिन पुगेको पाण्डेले बताए ।

सरकारले आयोजना सुरु गर्दा तीन वर्षमा सक्ने लक्ष्य राखेको थियो । आयोजनाको लागत एक अर्ब २० करोड छ । आयोजना सुरु हुनासाथ विद्युत् विस्तारका लागि जग्गा प्राप्ति गर्ने क्रममा स्थानीयले असहयोग गर्दा ढिलाइ हुन पुगेको आयोजना प्रमुख पाण्डे बताउँछन् ।

बुटवल-लुम्बिनी १३२ केभी यो आयोजनाबाट लुम्बिनी क्षेत्र र अमुवाका लागि एक एकवटा र भैरहवामा औद्योगिक फिडरका लागि ३३ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् ।

त्यस्तै तिलोत्तमा नगर क्षेत्र र स्थानीयका लागि ११ केभीएका दुईवटा ट्रान्समिशन लाइन जडान हुनेछन् । आयोजनाका प्रशासन प्रमुख नवीन आचार्यले एउटा फाउन्डेशन निर्माणमा जग्गा विवादले रोकिन पुगेको र अब विवाद हटिसकेको र फाउन्डेशनको काम सकिएलगत्तै पोल गाड्ने काम सुरु हुने बताए ।  

भैरहवा-लुम्बिनी क्षेत्रमा धेरै पहिलेदेखि विद्युत्‌को समस्या रहँदै आएको छ । प्रसारण लाइन नहुँदा भारतबाट आयातित विद्युत् भैरहवावासीले प्रयोग गर्दै आएका छन् । अब यो आयोजना बनेपछि विद्युत् समस्या हट्ने सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुलप्रसाद लामिछानेले बताए ।्

आर्थिक वर्ष २०७२/०७३ मा बुटवलको योगीकुटीबाट तिलोत्तमा हुँदै मैनहियासम्म लैजाने गरी आयोजना सुरु भएको थियो । जसमा सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा सडकको किनारमा मोनोपोल (सिंगल पोल) राख्ने तयारी थियो । तिलोत्तमावासीले सडक छेउबाट विद्युत् लैजाँदा मानवीय जोखिम हुने भन्दै मोनोपोल विस्तार गर्न दिएनन् । जसका कारण प्रसारण लाइन विस्तारको काम दुई वर्षसम्म रोकियो । सडकको सट्टा तिनाउ नदीको किनारबाट रुट तय गरेर विद्युत् विस्तार थालिए पनि स्थानीयले फेरि अवरोध गरे । त्यो अवरोध पनि सहमतिमा टुंगिएकाले आयोजना अगाडि बढेको हो ।

यस रूटमा सामुदायिक संस्था र सामुदायिक वनले समेत पोल गाड्ने जग्गा नदिँदा आयोजनाले केही महिना समस्या झेलेको थियो । लुम्बिनी कोरिडोरका उद्योगलाई प्राधिकरणले माग गरेअनुसार विद्युत् दिन सकिरहेको छैन । विद्युत लोडकै कारण भैरहवा र लुम्बिनी क्षेत्रमा आपूर्ति नियमित हुन सकिरहेको छैन । 
 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);