कम्युनिष्ट पार्टी झगडा गरेमा हाम्रो पालो आउँथ्यो भनेर कांग्रेसले सोंच्दै नसोंचे हुन्छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८३, आइतबार

कम्युनिष्ट पार्टी झगडा गरेमा हाम्रो पालो आउँथ्यो भनेर कांग्रेसले सोंच्दै नसोंचे हुन्छ : प्रचण्ड

पुष्पकमल दाहाल

राजनीतिक हत्याका घटना दोहोरिन सक्छन् –

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमला दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गर्नुभएको छ । मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक हत्या प्रतिहत्याका दोषिलाई पत्ता लगाई भविष्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताउनुभएको हो ।

मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भएपनि आजसम्म हत्यारा किटेर भन्न सक्ने प्रमाण प्रस्तुत गर्न नसकेकाले भोली पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उहाँले गर्नुभयो । नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दै उहाँले ठुला ठुला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिले सम्म सफल हुन नसकेको बताउनुभयो ।

मदन भण्डारी हत्या, उहाँका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो “मैले पहिलोचोटी प्रधानमन्त्रीको नारायणहिटीको अगाडि उभिएर भने यसको पत्ता लाई छोडिन्छ तर पत्ता लगाउन सकिएन । के ले दिदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन । हामी अहिले सरकारमा छौ । सरकारको नेतृत्व गरेका छौ तर भन्न सक्ने ठाउँमा छैनौ । बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठिक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ । कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोली त्यस्तै हुँदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौ मेरो प्वाईन्ट त्यहाँनिर हो । ”

उहाँले राजा विरुद्ध बोल्न सक्ने र बैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्न सक्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाहे नभएपनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गर्नुभयो ।

उहाँले भन्नुभयो “तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौ कि कमजोरी ? कमरेड मदन भण्डारीको देशभक्ति, उद्देश्य प्रतिको निष्ठा र प्रतिक्रियावादीहरु प्रतिको उहाँको वर्ग दृष्टिकोण हो त्यो । त्यस अर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर नै हामी भन्छौ । त्यसो भन्छौ भने कहिले काँही मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आजभोली आफ्नो छाला बचाउन तिर लाग्नेमा त छैनौ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौ ?हामी मारिएका छैनौ अहिले सम्म । मारिन पनि सक्छौ । यहाँ विचारणीय छ । ”

उहाँले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक मेहनत नभए दुई नेता असफल हुने खतरा तर्फ जान सक्ने संकेत गर्नुभयो । पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उहाँले त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्ने संकेत गर्नुभयो ।

उहाँले भन्नुभयो “दुई नेताको मात्रै असफलता हुनेवाला छैन । त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन । पार्टी एकता गरेर असफल भईसकेपछि कम्युनिष्ट आन्दोलन फेरी यही रुपमा उठ्न सायदै संभव हुन्छ । सिद्धियो भने दुईटै एकैचोटी । अब यो पार्टी मात्रै सकिएर कांग्रेस छदै छ नि कांग्रेसले लिड गर्ला भन्ने स्थिति पनि नेपालमा अब छैन । कांग्रेसले कम्युनिष्ट पार्टी झगडा गरिदिए देखि हाम्रो पालो आउँथ्यो भनेर सोच्दै नसोचे हुन्छ । हुनेवाला यो सिस्टम पनि जानेवाला छ र देशको एकता पनि खतरामा पर्नेवाला छ ।”

उहाँले सबैखाले पुर्वाग्रह र संकिर्णता माथि बिजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्न सक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताउनुभयो ।

ताजा समाचार