सामूहिक बलात्कार पछि महिलाको मृत्यु, बलात्कारमा संलग्न ६ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

माघ २१ २०७९, शनिबार

सामूहिक बलात्कार पछि महिलाको मृत्यु, बलात्कारमा संलग्न ६ जना पक्राउ

बनेपा, २१ भदौ । बनेपा–१० बस्ने ५७ वर्षीय नानु आलेमगरमाथि सामूहिक बलात्कार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । आलेमगर बनेपा नगरपालिका–८ स्थित इँट्टाभट्टा नजिकै एक साताअघि मकैबारीमा मृत अस्थामा फेला परेकी थिइन् । उनको सामूहिक बलात्कारका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

आज जिल्ला प्रहरी कार्यालय बनेपाले पत्रकार सम्मेलन गरी आलेमगरमाथि बलात्कार गर्ने ६ जनालाई सार्वजनिक गरेको छ । उनीहरुलाई फरक-फरक स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

सामूहिक बलात्कारपछि ती महिला अचेत भएकी र अचेत अवस्थामै उनको मृत्यु भएको प्रहरी उपरीक्षक सहदेव थापाले पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ परेका सबै अभियुक्तले प्रहरी समक्ष बलात्कारमा संलग्न भएको बयान दिएको उपरीक्षक थापाले बताए।

 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार अभियुक्तहरुलाई जबजस्ती करणी र कर्तव्य ज्यान उद्योग अन्तर्गत जिल्ला अदालत काभ्रेमा मुद्दा दर्ता गरिएको छ । अब ६ जनालाई नै जबजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा लाग्ने प्रहरीले जनाएको छ ।

 

यी हुन् महिला माथि बलात्कार गर्ने अभियुक्त

 

१. भूम्लुटार गाउँपालिका–३ बस्ने ३२ वर्षीय राजु भन्ने गोपाल परियार,

२. धुलिखेल नगरपालिका–७ बस्ने ३० वर्षीय हमाल भन्ने साधुराम विक,

३. नमोबुद्ध नगरपालिका निवासी २७ वर्षीय ठूलोभाइ भन्ने महेश परियार,

४. सिन्धुपाल्चोकको मेलम्ची–१४ बस्ने ३२ वर्षीय कुलबहादुर भन्ने सीताराम थापा,

५. रामेछापको लखनपुर–१ बस्ने २४ वर्षीय प्रकाश परियार

६. रामेछापको नाग्रेगर्गचे–१ बस्ने सञ्जय भन्ने ३३ वर्षीय दिलबहादुर प्रधान